काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न विधान महाधिवेशनका प्रतिनिधिलाई बालुवाटारमा विशेष प्रशिक्षण दिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘काउन्टर’ तयारीपछि केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गराएका ओलीले काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई भेला पारेर आफ्ना भित्री कुरा खोलेका हुन् ।
प्रशिक्षणको संयोजन नेता रामेश्वर फुँयालले गरेका थिए । काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले सामाजिक सञ्जालमार्फत ओलीको प्रशिक्षणका ४८ बुँदा सार्वजनिक गरेपछि पार्टीभित्रको आन्तरिक किचलो र ओलीको मनसाय थप छर्लङ्ग भएको छ । निरौलाका अनुसार ओलीले पार्टीभित्र विद्या भण्डारीबाहेक आफ्नो कोही प्रतिस्पर्धी नभएको स्पष्ट पारेका छन् ।
विद्या भण्डारीमाथि आक्रोस
प्रशिक्षणका क्रममा प्रधानमन्त्री ओलीले केही नेताले विद्या भण्डारीको फोटो राखेर ‘धन्दा’ चलाएको भन्दै आक्रोश व्यक्त गरे । उनले विद्या भण्डारीले ‘च्यासलले सदस्यता खायो’ भने पनि त्यो सत्य नभएको दाबी गरे । ओलीका अनुसार भण्डारीले सदस्यता नवीकरणका लागि पार्टीमा निवेदन नै दिएकी छैनन् ।
विद्या भण्डारीलाई बालुवाटारमा बोलाउँदा नआएको र पछि पार्टी कार्यालयमा भेट हुँदा भण्डारीले ‘तपाईं सक्नुहुन्न, मलाई सहयोग गर्नुस्’ भनेको ओलीले सुनाए । प्रत्युत्तरमा आफूले ‘तपाईं पार्टी चलाउने भ्रम नपाल्नुस्, अनुभव छैन’ भन्दै सम्झाएको उनको भनाइ छ । ओलीले विद्या भण्डारीलाई मदन भण्डारीको ‘सेन्टिमेन्ट’ ले अब काम नगर्ने भन्दै चेतावनीसमेत दिएको निरौलाले उल्लेख गरेका छन् ।
ओलीले विद्या भण्डारीले पूर्वराष्ट्रपति भएको व्यक्तिले असोभनीय गतिविधि गर्न नहुने, पार्टीको पक्षमा नबोलेकाहरूलाई भेला पारेर हिँडेको, आफूले पार्टीलाई अगाडि बढाउँदा पनि कतिपयले यो नदेखेको जस्ता टिप्पणी गरेको बताइएको छ । मदन भण्डारी फाउन्डेसनले ‘जबज’ बचाउन नसक्ने र विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले ‘बाटो बिराएको’, ‘अभागीलाई खाने बेलामा रिस उठेजस्तै व्यवहार गरेको’ जस्ता कठोर शब्दहरू प्रयोग गरेको समेत निरौलाले उल्लेख गरेका छन् ।
ओलीले आफूले विद्या भण्डारीलाई जति सम्मान अरू कसैले पनि नगरेको तर अहिले आफू उनैबाट अपमानित हुनुपरेको गुनासो पोखे । उनले विद्याबाहेक पार्टीमा आफूलाई चुनौती दिने दम कसैसँग नभएको र विद्याले आफूलाई छाडे सबै मिल्ने धारणा व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विगतमा वामदेव गौतमले पार्टी नफुटाएको भए पार्टीको दुई तिहाइ बहुमत आउने दाबी पनि प्रस्तुत गरे । उनले विधान महाधिवेशन एकताको महाधिवेशन हुने र अन्यथा गर्नेलाई हिसाबकिताब गरिने धम्की पनि दिएको निरौलाको भनाइ छ ।
प्रशिक्षणका क्रममा ओलीले पार्टीका साथीहरूको आम चाहनाका आधारमा पार्टीमा ७९ वर्षे उमेर हद हटाएको र आफू स्वस्थ रहेको समेत जानकारी गराए । ओलीले विधान महाधिवेशनमा एक दिन दस्तावेज प्रस्तुत हुने, एक दिन छलफल चल्ने र अर्को दिन समापन हुने पूर्वानुमान गरेका छन् । यस प्रशिक्षणले विधान महाधिवेशनअघि एमालेभित्रको आन्तरिक शक्ति संघर्ष र भावी रणनीतिबारे महत्वपूर्ण संकेत दिएको छ ।





