काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहँदा देशभर मनसुनी प्रभाव सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ ।
महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बिहानी समयमा देशका अधिकांश पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका केही भागमा मौसम खुला रहेको छ ।
आज दिउँसोभर देशको पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने पूर्वानुमान छ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य पहाडी भूभागका केही स्थानहरूमा र तराईका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशको पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । मौसमविद्हरूका अनुसार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना औंल्याएको छ । वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ । पहाडी क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि सुझाइएको छ ।



