ललितपुरबाट स्रोत नखुलेको झण्डै एक करोड बरामद, एक जना पक्राउ

काठमाडौँ । ललितपुरमा स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको विशेष टोलीले सोमबार साँझ गौरव स्याङ्तान नाम गरेका व्यक्तिलाई उक्त नगदसहित नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । ‘प्रारम्भिक सूचनामा ९०/९१ लाखभन्दा बढी रकम रहेको जानकारी आएको थियो,’ एआईजी तामाङले भने, ‘अहिले बरामद रकम गणना गर्ने काम भइरहेको छ ।’

पक्राउ परेका स्याङ्तानको विस्तृत परिचय र पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यति ठूलो परिमाणको नगदको स्रोत के हो भन्नेबारे उनले केही खुलाएका छैनन् । प्रहरीले उक्त रकम अवैध क्रियाकलापबाट आर्जन गरिएको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरेको छ ।

प्रहरीले बरामद भएको रकमको मुचुल्का तयार गरी गणना गरिरहेको जनाएको छ । सामान्यतया, स्रोत नखुलेको यति ठूलो रकम हुण्डी, सुन तस्करी वा अन्य संगठित अपराधसँग सम्बन्धित हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री