मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा क्षेत्र नम्बर २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । यससँगै रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा पनि सोही मितिमा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उपनिर्वाचन मिति केही दिनभित्रै औपचारिक निर्णय गरिने जानकारी दिए । ‘कात्तिक १७ गते उपनिर्वाचन गर्ने गरी तयारी गरिएको छ,’ उनले भने, ‘अहिले आन्तरिक तयारी भइरहेको छ, दुई–चार दिनभित्रै निर्णय हुन्छ ।’

२०७९ साल मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङ २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए । तर, चर्चित चक्रे मिलनमाथि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो ।

सर्वोच्चको फैसला अनुसार दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्य पदमा बस्न अयोग्य ठहरिएका थिए । त्यससँगै प्रदेशसभा क्षेत्र २ को पद रिक्त भएको हो ।

निर्वाचन आयोगले अब रिक्त उक्त पदमा कात्तिक १७ मा उपनिर्वाचन गर्ने निर्णयको अन्तिम तयारीमा जुटेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री