आर्थिक प्रलोभनमा यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक पक्राउ

काठमाडौं । महिलाहरूलाई आर्थिक प्रलोभन देखाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको गम्भीर आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-२३ बस्ने ४५ वर्षीय अजिज राइन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीहरूले दिएको संयुक्त उजुरीका आधारमा राइनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो । राइनविरुद्ध मानव बेचबिखन तथा यौनजन्य अपराध जस्ता गम्भीर प्रकृतिका मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ‘आरोपीलाई पक्राउ गरी आवश्यक अनुसन्धान र प्रमाण संकलनको काम भइरहेको छ,’ डीएसपी सिंहले भने, ‘यो एक संवेदनशील विषय हो र हामी गहिरो अनुसन्धान गरिरहेका छौं ।’

यो घटनाले राष्ट्रिय मानवअधिकार आयोगको पनि ध्यानाकर्षण गराएको छ । राइनविरुद्ध आयोगको मधेश प्रदेश कार्यालय, जनकपुरधाममा समेत उजुरी परेको छ । आयोगका प्रमुख बुद्धनारायण सहनीले घटनालाई अत्यन्त गम्भीर र संवेदनशील विषयका रूपमा लिइएको बताए । ‘उजुरी प्राप्त हुनासाथ आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरिसकेको छ,’ सहनीले भने, ‘मानव अधिकारको गम्भीर हनन भएको देखिएमा आवश्यक कारबाहीका लागि सिफारिस गरिनेछ ।’

प्रारम्भिक अनुसन्धानबाट राइनले लामो समयदेखि महिलाहरूलाई विभिन्न बहानामा फसाएर यौन शोषण गर्दै आएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री