वीरगञ्जमा समुदायमा हैजा फैलिदा दुई जनाको मृत्यु, सम्पूर्ण शैक्षिक संस्था बन्द

काठमाडौं । पर्साको वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमा फैलिएपछि अवस्था भयावह बनेको छ । संक्रमणको फैलावट रोक्न र विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार र सोमबारका लागि महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्देशन दिएको हो । विगत केही दिनदेखि तीव्र गतिमा फैलिरहेको संक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १२९ जना बिरामीमध्ये ४२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । यो आँकडाले प्रकोपले महामारीको रूप लिँदै गएको संकेत गरेको छ ।

कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११, १२, १३ र १६ मा संक्रमण सबैभन्दा बढी देखिएको छ । सुरुमा वडा नम्बर १२ को मुर्ली टोलबाट फाट्टफुट्ट झाडापखालाका बिरामी देखिन थालेकोमा शनिबारसम्म आइपुग्दा यो चारवटा वडामा फैलिएको हो । ठाकुरले पर्सा जिल्लामा पछिल्लो एक दशकयता पहिलो पटक हैजाको प्रकोप देखिएको बताउँदै अवस्था गम्भीर रहेको बताए ।

हैजाकै लक्षणले दुईको मृत्यु
यसैबीच, हैजासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जना बिरामीको मृत्यु भएको छ । पोखरिया नगरपालिका-९ की एक महिला र वीरगञ्ज महानगरपालिका-१२ का एक पुरुषको झाडापखालाकै कारण मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यद्यपि, उनीहरूको मृत्यु हैजाकै कारण भएको हो वा होइन भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको ठाकुरले बताए ।

कसरी बच्ने ?
भिब्रियो कोलरी नामक जीवाणुले दूषित खाना वा पानीको माध्यमबाट शरीरमा प्रवेश गरेपछि हैजा लाग्दछ । निरन्तर पातलो दिसा लाग्नु, वान्ता हुनु, पेट दुख्नु, शरीरमा पानीको कमी भई आँखा गाडिने, मांसपेशी बाउँडिने र ज्वरो आउनु यसका मुख्य लक्षण हुन् । समयमै उपचार नपाए बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

संक्रमणको स्रोत पत्ता लगाउन ११ विभिन्न स्थानबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको छ । स्वास्थ्यकर्मीहरूको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको र स्थानीयलाई उमालेको पानी मात्र पिउन तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री