काठमाडौं । युवामा उद्यमशीलता विकास, नेतृत्व क्षमता अभिवृद्धि, व्यवस्थापन र औद्योगिक सीप विकासमा टेवा पुर्याउने उद्देश्यसहित ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ शनिबार राजधानीमा आयोजना हुने भएको छ। युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा बिहान १० बजे सुरु हुनेछ।
आयोजक समितिका संयोजक राजु टण्डनका अनुसार कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, करियर मार्गदर्शन र बौद्धिक पलायन रोक्ने दिशामा योगदान गर्नेछ। यस वर्षको सम्मेलनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ। विद्यार्थीलाई सही दिशानिर्देश दिन, सामाजिक संलग्नता बढाउन र परम्परागत शिक्षण प्रणालीमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने आयोजक पक्षको विश्वास छ।
कार्यक्रममा चर्चित कलाकार हरिवंश आचार्य प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। यस्तै, एनसेलका प्रमुख कार्यकारी अधिकृत सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, क्रिकेटर पारस खड्का, गायक दुर्गेश थापा, हास्य कलाकार सन्दीप क्षेत्री, निर्देशक प्रदीप लामा, र्यापर ओएमजी स्पार्क, अधिकारकर्मी रुक्सना कपालीलगायत ख्यातिप्राप्त व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
कन्क्लेभमा सहभागीहरूले उद्यमशीलता, व्यवसायिक विकास, करियर प्रगति, प्रेरणा र नेतृत्वसम्बन्धी अनुभव साझा गर्नेछन्। यसका साथै गीत–संगीत, हास्यव्यङ्ग्य, नृत्य प्रस्तुति, गेम जोन, र “मेरो देश मेरो उत्पादन” अन्तरगत स्टलहरू पनि रहनेछन्।
यस संस्करणमा KYC–२०२५ युथ आइकन पुरस्कार सिसन बानियालाई प्रदान गरिनेछ भने एमएमए खेलाडी रबिन्द्र ढाँट विशेष पाहुनाका रूपमा सहभागी हुनेछन्। गायक दुर्गेश थापालाई परफर्मर अफ द इयर सम्मान दिइनेछ।
वि।सं। २०७६ सालदेखि निरन्तर आयोजना हुँदै आएको काठमाडौँ युथ कन्क्लेभ यसपटक छैठौं संस्करणमा प्रवेश गरेको छ। आयोजकहरूले यस कार्यक्रममार्फत युवामा देशभक्तिको भावना जागृत गर्ने, विदेश मोह घटाउने र स्वदेशमै अवसर खोज्न प्रेरणा दिने दाबी गरेका छन्।



