‘जलवायु न्याय’का लागि अन्तर्राष्ट्रिय अदालतमा लड्दैछौँ: परराष्ट्रमन्त्री राणा

काभ्रे । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु संरक्षण अपरिहार्य रहेको बताउँदै जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जोडदार आवाज उठाइरहेको बताएकी छन् ।

बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङमा शुक्रबार आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल गम्भीर सङ्कटमा परेको तथ्य विश्वले बुझिसकेको बताइन् । युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री राणाले भनिन्, ‘हाम्रा कारणले हामी पीडित भएका होइनौँ भन्ने तथ्य विश्वले बुझेको छ, त्यसैले अब हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लड्नुपर्छ ।’

उनले केही महिनाअघि नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ मार्फत जलवायु परिवर्तनको चपेटामा देश कसरी परेको छ भन्ने स्पष्ट पारिएको र २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरिएको जानकारी दिइन् ।

आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्दै मन्त्री राणाले पहिलोपटक अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने विषयलाई जोडदार रूपमा उठाएको बताइन् ।

‘अब हाम्रो ध्यान ‘कार्बन ट्रेड’ र ‘लस एण्ड ड्यामेज फण्ड’ (हानि तथा नोक्सानी कोष) जस्ता संयन्त्रमार्फत नेपालको पहुँच र कार्यक्रम सुनिश्चित गराउनेतर्फ केन्द्रित हुनेछ,’ उनले आफ्नो आगामी कार्यदिशाबारे स्पष्ट पारिन् । स्थानीय स्तरमा हुने वृक्षारोपण जस्ता कार्यक्रमले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई थप बलियो बनाउने उनको भनाइ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री