काठमाडौँ । नेपाल राष्ट्र बैंकले अटोमोबाइल क्षेत्रमा हालसम्म २ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको जनाएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १७औं नाडा अटो शोको अवसरमा आयोजना गरेको “कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार” विषयक अन्तरक्रियामा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
कार्यकारी निर्देशक पौडेलका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूका अतिरिक्त करिब १० वटा हायर पर्चेज कम्पनीमार्फत मात्रै २६ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ। उनले किस्ताबन्दीमा सवारी खरिद गर्ने संस्कृतिको विकासले बजार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए। अन्तर्राष्ट्रिय बजारमा ६० देखि ८० प्रतिशतसम्म लोन–टु–भ्यालु (एलटीभी) अनुपात कायम हुने गरेको उदाहरण दिँदै पौडेलले नेपालमा पनि व्यक्तिगत र व्यावसायिक प्रयोजनका गाडीका लागि फरक मापदण्ड अपनाउन सकिने संकेत गरे।
कार्यक्रममा बैंकरहरूले अटोमोबाइल क्षेत्रको कर्जालाई सुरक्षित लगानीका रूपमा चित्रित गरे। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अन्य क्षेत्रको तुलनामा अटोमोबाइल क्षेत्रमा प्रवाहित कर्जा बढी सुरक्षित रहेको बताए। उनका अनुसार निजी गाडी खरिदमा ग्राहकको सम्पत्ति धितोका रूपमा रहने हुँदा जोखिम न्यून हुन्छ, यद्यपि व्यावसायिक सवारीसाधनको कर्जामा भने केही चुनौती रहेको उनको भनाइ थियो।
त्यसैगरी, भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत बाबुराम शर्माले वित्तीय पहुँच गाउँ–गाउँसम्म विस्तार भइरहेको र विशेषगरी विद्युतीय गाडीको बढ्दो मागसँगै सो क्षेत्रमा कर्जाको आवश्यकता तीव्र गतिमा बढेको जानकारी दिए।
कार्यक्रममा व्यवसायीहरूले कर्जा नीतिमा थप लचकताको माग गरेका छन्। नाडाका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रमा लगानी गर्ने उपभोक्ताले पछाडि फर्केर हेर्नु नपर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले कर्मचारीहरूलाई मोटरसाइकल तथा गाडी खरिदका लागि २० वर्षसम्मको कर्जा अवधि उपलब्ध गराउन र लोन–टु–भ्यालु अनुपातलाई सहज बनाउन सुझाव दिए।
यता, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नीतिगत तालमेलको अभावमा व्यवसायी तथा उपभोक्ताले झन्झट व्यहोर्नुपरेको बताए। एउटै काम सम्पन्न गर्न चार–पाँचवटा सरकारी निकाय धाउनुपर्ने बाध्यताले समय र श्रम दुवै खेर गएको भन्दै उनले प्रक्रियागत सरलीकरणका लागि सरकारको ध्यानाकर्षण गराए।
अन्तरक्रियाका सहभागीहरूले अटोमोबाइल बजारको दीर्घकालीन र सन्तुलित विकासका लागि कर्जा नीतिमा स्थिरता र आवश्यकताअनुसार लचकता दुवै हुनुपर्नेमा जोड दिएका छन्। नाडा अटो शो, २०२५ भृकुटीमण्डपमा जारी छ, जहाँ सवारीसाधनका नयाँ मोडलहरू, प्रविधिहरू र सम्बन्धित वित्तीय सेवाहरू प्रदर्शनमा राखिएका छन्।




