देशको अर्थतन्त्र खुट्टाले नभई टाउकाले टेकेर हिँडिरहेको छ : पूर्वराष्ट्रपति भण्डारी

  • आयातमा निर्भर प्रणाली र बढ्दो वैदेशिक ऋणप्रति गहिरो चिन्ता, युवालाई स्वदेशमै आकर्षित गर्न सरकारलाई सुझाव

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थामा रहेको बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र स्वाभाविक गतिमा नभई उल्टो दिशामा हिँडिरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरिन् ।

“खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “हाम्रो अर्थतन्त्र आयातमा आधारित भन्सारमा चलिरहेको छ। यसले गर्दा व्यापार सन्तुलन हुन सकेको छैन, व्यापार घाटा चुलिँदो छ र वैदेशिक ऋणको भार बढिरहेको छ।”

उनले देशमा दलाल पुँजी फस्टाइरहेको तर राष्ट्रिय पुँजीले प्रोत्साहन पाउन नसकेको तथ्य औंल्याउँदै यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति भएको बताइन्। आयातमुखी अर्थतन्त्रले राष्ट्रिय उत्पादनलाई निरुत्साहित गरेको र देशलाई परनिर्भरताको चक्रमा फसाएको उनको विश्लेषण थियो।

अर्थतन्त्रको यस्तो चुनौतीपूर्ण अवस्थाबीच प्रतिभा पलायनको विषयमा समेत गम्भीर हुनुपर्नेमा उनले जोड दिइन्। “हामीले युवाहरूलाई देशमै कसरी आकर्षित गर्ने भन्नेबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,” उनले भनिन्।

पूर्वराष्ट्रपति भण्डारीले सरकारले नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक नीति र कार्यक्रमहरू तय गर्नुपर्ने सुझाव दिइन्। उनको यो टिप्पणीले देशको आर्थिक दिशा र भावी कार्यनीतिबारे एकपटक पुनः गम्भीर बहस सिर्जना गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री