-
एकै छानामुनि १० भन्दा बढी देशका विश्वविद्यालयबारे जानकारी
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीहरूलाई सत्यतथ्य र आधिकारिक सूचना उपलब्ध गराउने उद्देश्यले ब्रिलियन्ट एजुकेशन एण्ड सर्भिसेज प्रालिले बुधबार ‘एड्मिसन डे’ सफलतापूर्वक आयोजना गरेको छ। काठमाडौंको पुतलीसडकस्थित कन्सल्टेन्सीको कार्यालयमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो।
विशेष गरी कक्षा १२ उत्तीर्ण गरी विदेशमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थीहरूलाई लक्षित गरिएको कार्यक्रममा उनीहरूका अभिभावकहरूको पनि बाक्लो उपस्थिति रहेको ब्रिलियन्ट एजुकेशनकी निर्देशक कल्पना बस्नेतले जानकारी दिएकी छन् । उनका अनुसार, यस कार्यक्रमले विद्यार्थी र अभिभावकलाई विदेश अध्ययनसम्बन्धी सही जानकारी दिने र उनीहरूका जिज्ञासालाई सम्बोधन गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।
कार्यक्रममा अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, डेनमार्क, आयरल्यान्ड, जापान, जर्मनीजस्ता १० भन्दा बढी देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले विभिन्न देशको शैक्षिक प्रणाली, शुल्क, छात्रवृत्ति, भर्ना प्रक्रिया तथा आवश्यक मापदण्डहरूबारे विस्तृत जानकारी गराएका थिए। यसले विद्यार्थी र अभिभावकलाई सम्बन्धित देशका विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरी आफ्नो जिज्ञासा मेटाउने सुनौलो अवसर प्रदान गरेको थियो।
शैक्षिक परामर्श क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय ब्रिलियन्ट एजुकेशनले ‘शिक्षा सबैको लागि, पहिले देश अनि विदेश’ भन्ने नाराका साथ काम गर्दै आएको छ। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त यस संस्थाले विद्यार्थीहरूलाई भरपर्दो परामर्श प्रदान गर्दै आएको निर्देशक बस्नेतले बताइन् ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा ५०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। उनीहरूले विदेश जानुपूर्व गर्नुपर्ने तयारी, आवश्यक सीप र गन्तव्य देशमा अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी लिएका थिए। ‘एड्मिसन डे’ को अवसरमा विद्यार्थीहरूले तत्काल भर्ना, पूर्ण छात्रवृत्तिको अवसर, र आइइएलटिएस तथा पिटिईका कक्षाहरूमा विशेष छुटजस्ता लाभसमेत प्राप्त गरेका थिए।
निर्देशक बस्नेतले भनिन्, “यो ‘एड्मिसन डे’ विदेशमा उच्च शिक्षाको योजना बनाइरहेका विद्यार्थीहरूका लागि एकै छानामुनिबाट आवश्यक सम्पूर्ण जानकारी लिने र उत्कृष्ट विश्वविद्यालय छनोट गर्ने महत्त्वपूर्ण प्लेटफर्म बनेको छ।”



