काठमाडौं । बुधबारदेखि अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले आज (बिहीबार) पनि आराम गर्न सुझाव दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार रुघाखोकीको सामान्य समस्या देखिएकाले उनलाई चिकित्सकको सल्लाहमा आराममा राखिएको हो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन् र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘आज पनि प्रधानमन्त्री अत्यावश्यकबाहेक भेटघाटमा सहभागी हुने कार्यक्रम राखिएको छैन’, सचिवालयले जनाएको छ ।
स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री ओली बुधबारको प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन सकेनन् । बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यक्रम रहेको थियो । प्रधानमन्त्री अस्वस्थ भएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री स्वास्थ्यका कारण संसद्मा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । यससँगै, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हाललाई रद्द गरिएको छ ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा निजी चिकित्सकको निगरानीमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र छिट्टै नियमित काममा फर्किने सचिवालयले जनाएको छ ।



