काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी १७औँ संस्करणको नाडा अटो शो २०२५ लाई लक्षित गर्दै कृषि विकास बैंकले विद्युतीय सवारी (ईभी) कर्जामा आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले बजारकै सबैभन्दा प्रतिस्पर्धी मानिएको ६.२३ प्रतिशत ब्याजदरमा ईभी लोन उपलब्ध गराउने घोषणा गरेको हो ।
मंगलबारदेखि सुरु भएको अटो शो अवधिभर विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकले यो सुविधा लिन सक्नेछन् । बैंकले न्यूनतम ब्याजदरका साथै सेवा शुल्कमा समेत ३३ प्रतिशतको विशेष छुट प्रदान गर्ने जनाएको छ । यो घोषणासँगै कृषि विकास बैंक अटो लोनमा सबैभन्दा सस्तो प्रस्ताव ल्याउने बैंक बनेको छ ।
विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेको समयमा बैंकको यो योजनाले ईभी खरिदलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । नाडा अटो शो जस्तो बृहत् मञ्चमा सार्वजनिक गरिएको यो योजनाले शो अवलोकन गर्न आउने ग्राहकहरूलाई निर्णय लिन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
अटो शो अवधिभर मात्र लागू हुने यो विशेष योजनाले विद्युतीय गाडीको प्रवर्द्धनमा समेत टेवा पुर्याउने देखिन्छ । इच्छुक ग्राहकले भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा रहेको बैंकको स्टलमा गएर थप जानकारी लिन सक्नेछन् । नाडा अटो शो भदौ ८ गतेसम्म चल्नेछ ।




