- ‘जीटुजी’ मोडलमा औषधि खरिद गर्ने कोशी पहिलो प्रदेश, खरिदमा १८ प्रतिशत छुटले प्रदेशलाई आर्थिक लाभ
विराटनगर । प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदिक चिकित्सालाई मूलधारमा ल्याउने रणनीतिक कदमस्वरुप कोशी प्रदेश सरकारले ऐतिहासिक सिंहदरबार वैद्यखाना विकास समितिसँग २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौतासँगै, कोशी प्रदेश सरकारी-सरकारी (जीटुजी) मोडलमा वैद्यखानासँग सिधै औषधि खरिद गर्ने देशकै पहिलो प्रदेश बनेको छ ।
सोमबार विराटनगरमा आयोजित एक विशेष कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको उपस्थितिमा मन्त्रालयकी सचिव डा. राधिका थपलिया र वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो ऐतिहासिक सम्झौताले सार्वजनिक खरिदको झन्झटिलो प्रक्रियालाई छल्दै प्रदेशका नागरिकलाई गुणस्तरीय आयुर्वेदिक औषधि सहज र सुलभ रूपमा उपलब्ध गराउने मार्ग प्रशस्त गरेको छ ।
चालु आर्थिक वर्षको बजेटबाट वैद्यखानाद्वारा उत्पादित २३ प्रकारका अत्यावश्यक औषधि खरिद गरिनेछ । यसका लागि आपूर्ति व्यवस्थापन केन्द्र, जिल्ला आयुर्वेद अस्पताल र संघीय सरकारबाट प्राप्त अनुदानसमेत गरी कुल २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री राईले नागरिक स्वास्थ्य र सुशासनप्रति प्रदेश सरकारको प्रतिबद्धता जनाउँदै गुणस्तरीय सेवा प्रदान गर्न यो सम्झौता गरिएको बताए । “सिंहदरबार वैद्यखाना नेपालको गौरव र ऐतिहासिक विरासत हो । यसको गुणस्तरमा विश्वास गरेरै हामीले टेन्डरको झन्झटमा नगई सिधै सम्झौता गरेका हौँ,” मन्त्री राईले भने, “यसले पारदर्शिता सुनिश्चित गर्छ र जनताले उत्कृष्ट औषधि पाउँछन् । यो हाम्रो लागि कोशेढुंगा हो ।”
मन्त्रालयकी सचिव डा. राधिका थपलियाले वैद्यखानाको विश्वसनीय उत्पादन र गौरवपूर्ण इतिहासका कारण सहकार्यका लागि छनोट गरिएको बताइन् । उनका अनुसार, प्रदेशका १५ अस्पताल र आपूर्ति व्यवस्थापन केन्द्रले आफ्नो आवश्यकताअनुसार सिधै वैद्यखानाबाट औषधि खरिद गर्नेछन्, जसले समयमै आपूर्ति सुनिश्चित गर्नेछ ।
यस सम्झौताको सबैभन्दा महत्त्वपूर्ण आर्थिक पक्ष खरिदमा पाइने १८ प्रतिशत छुट हो । “सिधै खरिद गर्दा हामीले १८ प्रतिशत छुट पाउनेछौँ, जुन प्रदेश सरकारका लागि ठूलो आर्थिक बचत हो,” सचिव थपलियाले भनिन्, “छुटबाट बचेको रकमले थप औषधि खरिद गरी अझ धेरै नागरिकलाई सेवा दिइनेछ ।”
सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले यो सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै कोशी प्रदेशको कदमले समग्र आयुर्वेद क्षेत्रलाई नै प्रोत्साहन मिलेको बताए । “सात प्रदेशमध्ये सरकारीस्तरमा हामीसँग सिधै औषधि किन्ने कोशी पहिलो हो,” उनले भने, “कोशी प्रदेशको यो विश्वासले हामीलाई थप ऊर्जा दिएको छ । हामी गुणस्तरमा सम्झौता नगरी तोकिएको समयमा औषधि उपलब्ध गराउन प्रतिबद्ध छौँ ।”
उनले हाल ५७ प्रकारका औषधि उत्पादन गरिरहेको वैद्यखानाले निकट भविष्यमै उत्पादन क्षमता बढाएर ९० प्रकार पुर्याउने लक्ष्य राखेको जानकारी दिए । लामो समयदेखि व्यवस्थापकीय कमजोरी र सरकारी उदासीनताले थलिएको वैद्यखानाका लागि यो सम्झौता पुनर्जीवनको संकेत मानिएको छ, जसले यसको बजार विस्तार र आर्थिक स्थायित्वमा समेत महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ ।




