आर्यघाटको अमानवीय काण्ड : जल्दै गरेको शवको हड्डी किन्ने गिरोह पनि पक्राउ

काठमाडौं – हिन्दुहरूको अन्तिम संस्कार गरिने पवित्र स्थल पशुपति आर्यघाटमा भएको अमानवीय घटनाको जालो तोड्दै प्रहरीले जलाउँदै गरेको शवबाट निकालिएको हड्डी खरिद गर्ने थप दुई जनालाई पक्राउ गरेको छ । यससँगै, आर्यघाट जस्तो संवेदनशील स्थानबाट तन्त्रमन्त्र वा अन्य गोप्य प्रयोजनका लागि मानव अवशेषको गोप्य कारोबार हुने गरेको डरलाग्दो तथ्य सतहमा आएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंको कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन् । परिसरका प्रवक्ता, एसपी अपिल बोहराले उनीहरूलाई बिहीबार पक्राउ गरिएको जानकारी दिए । प्रहरीले आरोपी ठाकुरको कोठाबाट प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा हड्डीको धुलो र खरानी समेत बरामद गरेको छ ।

यो प्रकरणको अनुसन्धान साउन २३ गते काभ्रेको बनेपाका राम शाहीको शव जलाउने क्रममा चिताबाट हड्डी चोरेर बेच्ने पशुपतिका कर्मचारी गणेशप्रसाद ढकाल र उनका सहयोगी विनायक मैनाली पक्राउ परेपछि सुरु भएको थियो । उनीहरूले केवल ५०० रुपैयाँ मा सो हड्डी बेचेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मुख्य आरोपी ढकाल विगत २५ वर्षदेखि आर्यघाटमा शव जलाउने काममा संलग्न थिए । उनले पशुपति विकास कोषबाट प्रतिशव १५ सय रुपैयाँ बुझ्ने गरेको तथ्यले घटनाको संवेदनशीलतालाई अझै गहिरो बनाएको छ । लामो समयदेखि यस्तो पवित्र कार्यमा संलग्न व्यक्ति नै यस्तो घृणित अपराधमा लिप्त हुनुले आर्यघाटको व्यवस्थापन र निगरानीमाथि प्रश्न खडा गरेको छ ।

घटनाको थप अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ । प्रहरीले यो गिरोहमा अन्य व्यक्तिहरूको संलग्नता, यस्ता अवशेषहरूको अन्तिम प्रयोग र यसको बजारबारे गहिरो अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री