‘हर्क साम्पाङ’ जस्तो सुपुत्र जन्माएबापत आमा सम्मानित, जसमायालाई ‘मौलशोभा आमा सम्मान’

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ जस्ता श्रम, सुशासन र विकासका पर्याय बनेका अनुकरणीय पुत्रलाई जन्म दिएको भन्दै उनकी आमा जसमाया राईलाई यो वर्षको ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ । डा. पुरण राईद्वारा स्थापित यो विशिष्ट सम्मानका लागि बुधबार काठमाडौँमा बसेको छनोट समितिले जसमायाको नाम सर्वसम्मतिले चयन गरेको हो ।

समितिका संयोजक डा. सुकराज राईले देश-विदेशमा परिचित र उदाहरणीय व्यक्तित्वलाई जन्म दिने आमाको सम्मान गर्नुपर्छ भन्ने भावनाका साथ जसमाया राईलाई छनोट गरिएको बताए । उनले यो प्रयासलाई नौलो र अनुकरणीय भन्दै पुरस्कार संस्थापक डा. पुरण राईप्रति आभार व्यक्त गरे ।

पुरस्कार घोषणा सभामा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले चर्चित र उदाहरणीय व्यक्तित्वलाई जन्मदिने आमाको खोजी गरी सम्मान गरिनु आफैँमा एक सुखद् र नौलो सुरुवात भएको टिप्पणी गरे । त्यसैगरी, प्रा.डा. विष्णु राई र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जीवित छँदै आमाबुबाको सम्मान गर्ने यो प्रचलनले समाजमा सकारात्मक सन्देश दिने बताए । उनीहरूले दिवङ्गत भएपछि गरिने कर्मकाण्डभन्दा जीवित हुँदा दिइने माया र सम्मान महत्त्वपूर्ण हुनेमा जोड दिए ।

पुरस्कारका संस्थापक डा. पुरण राईले आफ्नी आमा मौलशोभा राईको सम्मानमा वि.सं. २०८० मा यो पुरस्कार स्थापना गरेको बताए । उनले मुन्धुमी संस्कारमा ‘मछाकुमा’ (आमाकी आमा) लाई पूजा गर्ने परम्पराबाट प्रेरित भएर यो सम्मान स्थापना गरेको बताए । यो सम्मानअन्तर्गत सम्मानित व्यक्तित्वलाई ५० हजार रुपैयाँ नगद राशि पनि अर्पण गरिन्छ ।

गत वर्ष यो सम्मान लेखिका तथा कवि दीपा राई पुनलाई जन्मदिने आमा विमला राई (साम्पाङ) लाई प्रदान गरिएको थियो । संस्थापक डा. राईको जन्मदिनको अवसर पारेर हरेक वर्ष पुरस्कार घोषणा गर्ने र पछि विशेष कार्यक्रम आयोजना गरी सम्मान अर्पण गर्ने परम्परा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री