लक्ष्मी सनराइज बैंकको नाफामा ४१ प्रतिशतले बढ्यो, लाभांश क्षमता १२.३४ प्रतिशत

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो खुद नाफामा ४०.९७ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार, खुद ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि इम्पेरमेन्ट चार्ज (सम्भावित नोक्सानी व्यवस्था) मा ठूलो कटौती भएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित हुँदा सञ्चालन मुनाफा ३८.५५ प्रतिशतले बढेको छ । यद्यपि, बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १०.०५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा पुगेको छ । बैंकले ३ अर्ब ५३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ, जसको आधारमा बैंकको लाभांश वितरण क्षमता १२.३४ प्रतिशत रहेको देखिन्छ ।

आषाढ मसान्तसम्ममा २४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा अनुपात भने ४.२५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री