-
वितरणयोग्य मुनाफामा ऐतिहासिक सुधारले १४% लाभांश दिन सक्ने, खराब कर्जा र घट्दो प्रतिसेयर आम्दानी चुनौती
काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो खुद नाफामा सामान्य वृद्धि कायम राख्दै वितरणयोग्य मुनाफामा भने ऐतिहासिक सुधार गरेको छ, जसले गर्दा बैंकको लाभांश वितरण क्षमता कीर्तिमानी रूपमा १४ प्रतिशतभन्दा माथि पुगेको छ । यद्यपि, बैंकको मुख्य सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट देखिएको छ ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार, बैंकले समीक्षा अवधिमा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँको तुलनामा १.१ प्रतिशतले मात्र बढी हो ।
नाफामा सामान्य वृद्धि भए पनि बैंकको सबैभन्दा उल्लेखनीय सफलता वितरणयोग्य मुनाफामा देखिएको छ । अघिल्लो वर्ष १.४० प्रतिशतको न्यून लाभांश क्षमतामा रहेको बैंकले यस वर्ष ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्दै १४.११ प्रतिशत लाभांश वितरण गर्न सक्ने बलियो आधार बनाएको हो । रिटेन्ड अर्निङ अघिल्लो वर्ष ५० करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेकोमा यसपटक ५ अर्ब ३७ करोड रुपैयाँ धनात्मक हुनुलाई प्रमुख सुधार मानिएको छ ।
यद्यपि, बैंकको सञ्चालन आयतर्फ भने केही दबाब देखिएको छ । बैंकको सञ्चालन मुनाफा २.७५ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी पनि ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा लगानीमा भने आक्रामक वृद्धि गरेको छ । बैंकको निक्षेप ५ खर्ब ५० अर्ब ६२ करोड र कर्जा लगानी ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । तर, व्यवसाय विस्तारसँगै बैंकको खराब कर्जा अनुपात (एनपीएल) ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ, जसले सम्पत्तिको गुणस्तरमा चुनौती थपिएको देखाउँछ ।
खुद नाफा सामान्य बढे पनि सेयरधनीले पाउने प्रतिफल, अर्थात् वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने अघिल्लो वर्षको १६.९९ रुपैयाँबाट घटेर १६.२८ रुपैयाँमा आइपुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ । बैंकले नाफा वृद्धिसँगै पुँजी पर्याप्तता र निक्षेप-कर्जा वृद्धिमा देखिएको सुधारले आगामी वर्षमा स्थिर वित्तीय प्रदर्शन गर्ने लक्ष्यलाई थप मजबुत बनाएको जनाएको छ ।



