प्रभु बैंकको नाफामा ९६५% को छलाङ, मुख्य व्यवसायको आम्दानी भने ३९% ले खुम्चियो

  • संचित घाटा नाफामा परिणत, प्रतिसेयर आम्दानी रु. २ बाट रु. २३ पुग्यो, लाभांश क्षमतामा सुधार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा प्रावधान फिर्ताको (Impairment Reversal) बलमा आफ्नो खुद नाफामा चामत्कारिक तथा अभूतपूर्व वृद्धि हासिल गरेको छ । तर, नाफाको यो विशाल आँकडाको पछाडि बैंकको मुख्य व्यवसायबाट हुने खुद ब्याज आम्दानी भने झन्डै ४० प्रतिशतले खुम्चिएको छ, जसले बैंकको सञ्चालन मुनाफामा मिश्रित तस्बिर देखाएको छ ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार, बैंकले गत वर्ष ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा जम्मा ५१ करोड ८ लाख रुपैयाँ थियो । यो ९६५.४१ प्रतिशतको विशाल वृद्धि हो ।

नाफामा आएको यो अस्वाभाविक छलाङको मुख्य कारण सम्भावित कर्जा नोक्सानीका लागि छुट्याइएको रकम फिर्ता हुनु हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब ७२ करोड रुपैयाँ नोक्सानी व्यवस्था (प्रोभिजन) गरेकोमा यसपटक २ अर्ब ५१ करोड रुपैयाँ फिर्ता (रिभर्स) भएपछि नाफाको अंक ह्वात्तै बढेको हो ।

नाफाको यो विशाल वृद्धिले सुखद तस्बिर देखाए पनि बैंकको सञ्चालन आयको मुख्य स्रोत, खुद ब्याज आम्दानी, भने ३९.४७ प्रतिशतले घटेर ७ अर्ब २० करोडमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

वित्तीय स्वास्थ्यमा सुधार, लाभांश क्षमता बलियो

यो वित्तीय प्रदर्शनको सीधा र सकारात्मक प्रभाव बैंकको समग्र वित्तीय स्वास्थ्य र सेयरधनी सूचकहरूमा देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब ३ करोड रुपैयाँ संचित नोक्सानीमा रहेको बैंक यसपटक १ अर्ब ५ करोड रुपैयाँ संचित नाफामा पुगेको छ । यही रकम वितरणयोग्य नाफाका रूपमा कायम हुँदा बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिन सक्ने क्षमता बनाएको छ ।

यसको प्रत्यक्ष असर प्रतिसेयर आम्दानी (EPS) मा देखिएको छ । अघिल्लो वर्ष केवल २ रुपैयाँ १७ पैसा रहेको ईपीएस बढेर २३ रुपैयाँ १२ पैसा पुगेको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ पनि १३८.६४ रुपैयाँबाट बढेर १६२ रुपैयाँ पुगेको छ ।

बैंकले निक्षेप संकलन १२.१९ प्रतिशतले बढाएर ३ खर्ब ४२ अर्ब र कर्जा लगानी ४.२२ प्रतिशतले बढाएर २ खर्ब ३० अर्ब पुर्‍याएको छ । बैंकको कोष लागत (Cost of Fund) ५.७७ प्रतिशतबाट घटेर ४.३६ प्रतिशतमा झर्नुले कोष व्यवस्थापनमा सुधार आएको संकेत गर्छ भने खराब कर्जा अनुपात (NPL) ४.९६ प्रतिशतमा स्थिर रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री