काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार लघुवित्तको नाफा ७६.९६ प्रतिशतले वृद्धि भई ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो। यस पटक नाफामा देखिएको उच्च वृद्धिका पछाडि मुख्यतः ब्याज आम्दानी र सञ्चालन मुनाफा सुधार प्रमुख कारण हुन्।
विवरण अनुसार, लघुवित्तले चौथो त्रैमाससम्म २० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१.८६ प्रतिशतले बढी हो। त्यस्तै, कुल सञ्चालन आम्दानी २६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ करोड ३३ लाख रुपैयाँ रहेको छ।
प्रतिशेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ५८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात (P/E ratio) ४२.५५ गुणा रहेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीको जगेडा कोष ५९.९१ प्रतिशतले वृद्धि भई २० करोड ४४ लाख रुपैयाँ पुगेको छ। लघुवित्तले १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यद्यपि, खराब कर्जा अनुपात बढेर चिन्ताको विषय बनेको छ। अघिल्लो वर्ष ३.३९ प्रतिशत रहेको खराब कर्जा अनुपात यसपटक ४.६९ प्रतिशतमा पुगेको छ। लघुवित्तको प्रतिशेयर कुल सम्पत्ति मूल्य १ हजार ६०४ रुपैयाँ ३३ पैसा छ भने तरलता अनुपात १५.५५ प्रतिशत कायम रहेको छ।




