काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले मंगलबार हालसम्मकै सबैभन्दा उच्च विन्दु छोएको छ । प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेर सुनले नयाँ कीर्तिमान कायम गरेको हो । सोमबारको तुलनामा मंगलबार मात्रै भाउ १ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै जानु मूल्य वृद्धिको तत्कालको कारण हो । तर, विगत एक वर्षदेखि निरन्तर उकालो लागिरहेको सुनको मूल्य पछाडि विश्वव्यापी भूराजनीतिक तनाव, ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध र आर्थिक अनिश्चितता मुख्य कारक रहेको विज्ञहरू बताउँछन् ।
विगत एक वर्षमा सुनको भाउमा प्रतितोला करिब ५० हजार रुपैयाँले वृद्धि भएको छ । गत वर्ष साउन २० गते १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । यसका पछाडि निम्न कारणहरू जिम्मेवार देखिन्छन्:-
-
कमजोर नेपाली मुद्रा: पछिल्लो एक हप्तामा अमेरिकी डलरको भाउ १३८.९७ बाट बढेर १४०.५६ रुपैयाँ पुगेको छ । डलर महँगिदा नेपालमा आयात हुने सुनको मूल्य स्वतः बढ्छ ।
-
विश्वव्यापी तनाव: रुस-युक्रेन युद्ध र इजरायल-हमास द्वन्द्वजस्ता अन्तर्राष्ट्रिय घटनाक्रमले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ । यस्तो बेला लगानीकर्ताहरू अन्य क्षेत्रबाट लगानी झिकेर सुन जस्तो सुरक्षित मानिने धातुमा लगानी गर्न आकर्षित हुन्छन्, जसले माग बढाउँछ ।
-
अमेरिकाको ‘ट्यारिफ वार’: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न देशबाट आयात हुने सामानमाथि कर लगाउने नीतिका कारण विश्व व्यापारमा अनिश्चितता छाएको छ । यसले पनि लगानीकर्तालाई सुनतर्फ धकेलेको छ ।
-
अमेरिकी ब्याजदर: अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउँदा डलरमा प्रतिफल कम हुन्छ र लगानीकर्ता सुनमा आकर्षित हुन्छन् ।
महासङ्घका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार, वर्तमान अवस्था कायमै रहे सुनको मूल्य छिट्टै दुई लाख रुपैयाँको मनोवैज्ञानिक विन्दु पार गर्न सक्ने देखिन्छ । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा पनि विश्वव्यापी अर्थतन्त्रमा मडारिएको अनिश्चितता र लगानीकर्ताको सुरक्षित सम्पत्ति खोज्ने प्रवृत्तिले मूल्य बढाएको बताउँछन् । यद्यपि, अन्तर्राष्ट्रिय तनाव कम भए र अमेरिकाले आफ्नो कर नीतिमा लचकता देखाए मूल्य घट्न सक्ने सम्भावना पनि उत्तिकै छ ।
सुनको मूल्य बढ्दा आफूसँग भएको सुनको मूल्य बढेकोमा केही खुसी भए पनि अर्थशास्त्रीहरू यसलाई अर्थतन्त्रका लागि सुखद सङ्केत मान्दैनन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा भन्छन्, ‘सुनमा लगानी हुनु आर्थिक विकासका लागि राम्रो होइन । यो सट्टेबाजी लगानी हो, यसको मूल्य जुनसुकै बेला घट्न सक्छ । जनता यस्तो लगानीमा रमाउनु भनेको देश उँभो नलाग्ने सङ्केत हो ।’
उनको भनाइमा महासङ्घका उपाध्यक्ष बज्राचार्य पनि सहमत छन् । मानिसहरूले अन्य क्षेत्रमा लगानी गर्न असुरक्षित महसुस गर्दा मात्र सुनको भाउ बढ्ने भएकाले यो खुसीको कुरा नभएको उनी बताउँछन् । तत्काल सुन किन्न चाहनेहरूलाई केही समय पर्खिन उनको सुझाव छ ।




