तुर्कमेनिस्तानमा आज यस्ता छन् प्रधानमन्त्री ओलीका कार्यक्रम

काठमाडौं ।  भूपरिवेष्टित विकासशील राष्ट्रहरूका साझा चुनौती र अवसरहरूमाथि विश्वको ध्यानाकर्षण गराउन तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा जारी तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय कार्यक्रममा नेपालको नेतृत्व गर्दैछन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी प्रधानमन्त्री ओलीले ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्टित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयक महत्त्वपूर्ण छलफल सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, भूपरिवेष्टित देशहरूका लागि अत्यावश्यक मानिएको ‘व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य’ विषयक अर्को छलफल सत्रको प्रधानमन्त्री ओलीले सह-अध्यक्षता गर्नेछन् ।

यसका साथै, उनले आजै काजकस्तान, अजरवैजान, र ताजकस्तानका राष्ट्रपतिहरूसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । साउन २० देखि २३ गतेसम्म आयोजना भइरहेको यो सम्मेलन समुद्रमा सीधा पहुँच नभएका र विश्व बजारबाट टाढा रहेका कारण विभिन्न समस्या भोगिरहेका ३२ राष्ट्रहरूको साझा मञ्च हो । अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा फैलिएका यी राष्ट्रहरूको कुल जनसंख्या करिब ४४ करोड छ ।

अन्तर्राष्ट्रिय व्यापारका लागि अन्य देशको पारवहनमा निर्भर रहनुपर्ने, बोझिलो प्रक्रिया, अपर्याप्त पूर्वाधार र उच्च यातायात लागतजस्ता साझा चुनौतीहरूले यी देशहरूको प्रतिस्पर्धात्मक क्षमतामा असर पारेको छ । यही सन्दर्भमा सम्मेलनले नवीन समाधान, रणनीतिक साझेदारी र लगानी वृद्धि मार्फत दिगो विकास लक्ष्यहरू हासिल गर्न सघाउने उद्देश्य राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री