हिमालयन एभरेष्ट इन्स्योरेन्स र डोको रिसाइक्लर्सको सहकार्य

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वातावरण संरक्षण र संस्थागत दिगोपन सुनिश्चित गर्ने लक्ष्यका साथ फोहोर व्यवस्थापनमा नवीन पहल थालेको छ। यस सन्दर्भमा कम्पनीले डोको रिसाइक्लर्ससँग सहकार्य गर्दै आफ्नो प्रमुख कार्यालयबाट निस्कने फोहोरलाई वातावरणमैत्री ढंगले व्यवस्थापन गर्ने काम सुरु गरेको हो।

डोको रिसाइक्लर्स वातावरणीय दृष्टिले जिम्मेवार संस्था हो, जसले फोहोरको संकलन, वर्गीकरण र प्रशोधनको काम गर्छ। कम्पनीको भनाइमा, कार्यालयबाट निस्कने ८५ प्रतिशत फोहोर सुक्खा खालको हुन्छ, जसलाई पुनः प्रयोगयोग्य सामग्रीका रूपमा डोकोले प्रशोधन गर्दै आएको छ।

एचइआई की प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठका अनुसार, “वातावरण संरक्षण र दीर्घकालीन दिगोपन हाम्रो प्राथमिकता हो। हामी फोहोर डम्पिङ साइटमा पुग्न नदिई त्यसलाई पुनःप्रयोगमा ल्याउने प्रयासमा छौं।”

कम्पनीले कागजको प्रयोग घटाउने र कार्य प्रणालीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने योजना अघि सारेको छ। डिजिटल ट्रान्जिसनमार्फत कम्पनीले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जनाएको छ।

“दीर्घकालीन दिगो वृद्धि सुनिश्चित गर्ने दिशामा यो एक महत्वपूर्ण कदम हो,” एचइआईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। कम्पनीले यो योजनालाई आफ्ना अन्य शाखाहरुमा पनि विस्तार गर्दै लैजाने तयारी गरिरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री