सिवाईसी नेपाल लघुवित्तको ऐतिहासिक छलाङ: खुद नाफामा २०८% को कीर्तिमानी वृद्धि

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा आफ्नो वित्तीय प्रदर्शनमा ऐतिहासिक सफलता हासिल गरेको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा ११ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ३ करोड ८० लाख ८८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। यो उत्कृष्ट नतिजाले संस्थाको वित्तीय स्वास्थ्य र व्यवस्थापकीय कुशलतालाई स्पष्ट रूपमा दर्शाएको छ।

संस्थाको खुद ब्याज आम्दानीमा पनि उत्साहजनक वृद्धि देखिएको छ। अघिल्लो वर्षको तुलनामा ४१.२९ प्रतिशतले वृद्धि हुँदै खुद ब्याज आम्दानी ४५ करोड ३ लाख रुपैयाँ पुगेको छ। यसैगरी, संस्थाको सञ्चालन आम्दानी ४९ करोड ९४ लाख रुपैयाँ र सञ्चालन मुनाफा १६ करोड २७ लाख रुपैयाँ पुगेको छ, जसले संस्थाको कुशल सञ्चालन क्षमतालाई प्रमाणित गर्दछ। तुलनात्मक रूपमा सञ्चालन खर्चमा भएको सामान्य वृद्धिले संस्थाले खर्च व्यवस्थापनमा अपनाएको मितव्ययितालाई संकेत गर्छ।

वित्तीय स्थायित्वका सूचकहरूमा पनि सिवाईसी नेपाल लघुवित्तले आफूलाई अब्बल साबित गरेको छ। संस्थाको रिटेन्ड अर्निङ २ करोड ३३ लाखबाट बढेर ११ करोड ३३ लाख पुगेको छ भने जगेडा कोष ३३ करोड ८८ लाखबाट ३५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा संस्थाले २ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ, जसले बजारमा संस्थाको बढ्दो पहुँच र विश्वसनीयतालाई देखाउँछ।

लघुवित्त क्षेत्रको प्रमुख चुनौतीको रूपमा रहेको खराब कर्जालाई घटाउन संस्था सफल भएको छ। खराब कर्जाको अनुपात ४.९५ प्रतिशतबाट घटेर ४.५४ प्रतिशतमा झरेको छ। सम्भावित जोखिम व्यवस्थापनका लागि २ करोड २ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको छ।

लगानीकर्ताका दृष्टिकोणले पनि संस्थाको प्रदर्शन आकर्षक रहेको छ। संस्थाको वितरणयोग्य मुनाफा ९ करोड १० लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी (EPS) ४४.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७७.१७ रुपैयाँ र मूल्य/आम्दानी अनुपात (P/E Ratio) ४०.२८ गुणा रहेको छ। साथै, १४.३५ प्रतिशतको तरलता अनुपातले संस्थाको वित्तीय दायित्व वहन क्षमता बलियो रहेको देखाउँछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री