काठमाडौँ । नेपालले पहिलोपटक एक ऐतिहासिक तथा अन्तर्राष्ट्रिय महत्वको दक्षिण एसियाली युवा नेतृत्व सम्मेलन आयोजना गर्ने गौरव प्राप्त गरेको छ । जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालको अगुवाइमा “Bridging Nations – Building Leadership” (राष्ट्रहरूलाई जोड्दै – नेतृत्व निर्माण गर्दै) भन्ने नाराका साथ ‘साउथ-एसियन एकेडेमी फर इन्टरनेशनल लिडरसिप (SAAIL) नेपाल २०२५’ आयोजना भएको हो ।
काठमाडौँको ठमेलस्थित एलोफ्ट होटलमा हिजोदेखि सुरु भएको सम्मेलन अगस्ट ३ सम्म चल्नेछ । सम्मेलनमा दक्षिण एसियाका उदीयमान युवा नेतृत्वकर्ताहरू एउटै मञ्चमा ल्याएको हो । यो कार्यक्रमले नेपाललाई युवा नेतृत्व विकासको क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
जेसीआई नेपालका अनुसार, यो एकेडेमीको अवधारणा नेपाल जेसीजको वर्ष २०२५ की राष्ट्रिय अध्यक्ष रञ्जनी थापाको परिकल्पना र दूरदृष्टिको प्रतिफल हो । यसको सफल कार्यान्वयनले नेपाल जेसीजको इतिहासमा एक नयाँ अध्याय थप्नेछ । कार्यक्रमको निर्देशकको जिम्मेवारी पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई सिनेटर प्रज्ञा राज राजभण्डारीले सम्हाल्ने छन्, जसले कार्यक्रमको गरिमा र व्यवस्थापनलाई थप उचाइ दिने विश्वास गरिएको छ ।
SAAIL को अवधारणा सन् २०२५ मा मंगोलियाको उलानबटारमा सम्पन्न JCI एसिया-प्यासिफिक सम्मेलन (ASPAC) मा जन्मिएको थियो । उक्त सम्मेलनका क्रममा नेपाल, भारत, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरूबीच एक संयुक्त समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको थियो, जसमा यी चार राष्ट्रले मिलेर SAAIL स्थापना गर्ने संकल्प गरेका थिए ।
यो संकल्पलाई कार्यान्वयन गर्ने पहिलो राष्ट्र बन्नु नेपालका लागि गौरवको विषय हो । योजना अनुसार, यो एकेडेमी हरेक वर्ष दक्षिण एसियाका फरक-फरक राष्ट्रमा आलोपालो आयोजना गरिनेछ, जसले क्षेत्रीय सहकार्यलाई दीर्घकालीन रूपमा बलियो बनाउनेछ ।
नेतृत्व विकासदेखि पर्यटन प्रवर्द्धनसम्मका उद्देश्य
SAAIL नेपाल २०२५ ले बहुआयामिक उद्देश्यहरूलाई आत्मसात् गरेको छ, जसका प्रमुख पक्षहरू निम्न छन्:
-
नेतृत्व विकास: युवाहरूमा बहुआयामिक नेतृत्व क्षमताको विकास गर्ने ।
-
क्षेत्रीय सहकार्य: दक्षिण एसियाली राष्ट्रहरूबीच आपसी समझदारी, मित्रता र सहकार्यको प्रवर्द्धन गर्ने ।
-
नेपालको पहिचान: नेपाली संस्कृति, पर्यटन र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रचार-प्रसार गर्ने ।
-
लगानी र नवप्रवर्तन: अन्तर्राष्ट्रिय युवा सहभागितामार्फत नेपालमा उद्योग, लगानी र नवीन व्यवसायको सम्भावना पहिल्याउने ।
-
दीर्घकालीन सञ्जाल: युवाहरूबीच दीर्घकालीन नेटवर्क र क्षेत्रीय साझेदारीको बलियो जग निर्माण गर्ने ।




