सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँट, मागभन्दा २५ प्रतिशत बढी आवेदन

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ को इकाई बाँडफाँट सफलतापूर्वक सम्पन्न भएको छ। लगानीकर्ताहरूको उत्साहजनक सहभागिताका कारण यो योजनामा मागभन्दा २५ प्रतिशत बढी आवेदन परेको हो, जुन नेपालको खुलामुखी म्युचुअल फन्डको इतिहासमा एउटा किर्तिमान हो।

कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको यस योजनाले असार १३ देखि २७ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो। सिटिजन्स क्यापिटल लिमिटेडको डिल्लीबजारस्थित कार्यालयमा बिहीबार एक कार्यक्रमका बीच इकाई बाँडफाँट गरिएको हो। कार्यक्रममा योजना व्यवस्थापक, कोष प्रवर्द्धक, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रतिनिधिहरू र केही लगानीकर्ताहरूको उपस्थिति रहेको थियो।

यो योजनाको कुल आकार ५० करोड रुपैयाँ अर्थात ५ करोड इकाई रहेको छ। जसमध्ये ७५ लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि छुट्याइएको थियो भने बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा राखिएको थियो। न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था थियो।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार बाँडफाँट सम्पन्न भएको र नतिजा सिटिजन्स क्यापिटलको वेबसाइट र सिडिएस एण्ड क्लियरिङको ‘मेरो सेयर’ पोर्टलमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री