काठमाडौं । लामो समयदेखिको आन्तरिक शक्ति संघर्ष र विवादले ग्रस्त नागरिक उन्मुक्ति पार्टी अन्ततः दुई चिरामा विभाजित भएको छ । पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट मात्र नभई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै रेशमका बुबा लालवीर चौधरीलाई सर्वसम्मत नयाँ अध्यक्ष चयन गरेको छ ।
श्रीमती (रञ्जिता) लाई अध्यक्ष पदबाट हटाएर रेशमले आफ्ना बुबा (लालवीर)लाई नेतृत्वमा स्थापित गरेपछि पार्टीको भविष्य नै अनिश्चित बनेको छ । बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णयलाई रेशम पक्षले ‘पार्टी बचाउने अभियान’ को संज्ञा दिएको छ ।
रञ्जितामाथि चार गम्भीर आरोप
रेशम पक्षको भेलाले अध्यक्ष श्रेष्ठलाई पदमुक्त गर्नुका पछाडि चारवटा प्रमुख कारण देखाएको छ । संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारुका अनुसार, श्रेष्ठमाथि निम्न आरोपहरू लगाइएको छ:-
- बहुमत केन्द्रीय सदस्यले माग गर्दा पनि केन्द्रीय समितिको बैठक नबोलाई एकलौटी गरेको ।
- पार्टीको विधानविपरीत स्वेच्छाचारी ढंगले निर्णयहरू गरेको ।
- सल्लाह र परामर्शबिनै कार्यवाहक अध्यक्ष तोकेर पार्टीमा अराजकता निम्त्याएको ।
- भ्रष्टाचारजन्य गतिविधिमा मुछिएको र त्यसबारे स्पष्ट पार्न राष्ट्रिय भेलामा उपस्थित हुन गरिएको आग्रहलाई समेत बेवास्ता गरेको ।
भेला नै अवैधानिक भएको रञ्जिताको दाबी
यता, अध्यक्षबाट हटाइएकी रञ्जिता श्रेष्ठले भने उक्त भेलालाई ‘गुटगत भेला’ को संज्ञा दिँदै त्यसको कुनै वैधानिकता नभएको जिकिर गरेकी छिन् । उनले पार्टीको विधानअनुसार राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षमा मात्र निहित रहेको बताउँदै उक्त निर्णयलाई अस्वीकार गरेकी छन् ।
आफ्नो कदमलाई सशक्त बनाउन श्रेष्ठले बुधबार नै संसदीय दलका नेता गंगाराम चौधरीलाई विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै अध्यक्षको हैसियतमा स्पष्टीकरण सोधेकी छन् । यसले पार्टीको विवाद अब सडक र भेलाबाट बढेर संसदीय दल र निर्वाचन आयोगसम्म पुग्ने निश्चित भएको छ ।




