काठमाडौं । आफ्ना सातबुँदे माग पूरा गराउन काठमाडौंको माइतीघरमा आमरण अनशन थालेको पहिलो दिनमै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । स्वास्थ्य नाजुक बन्दै गएपछि प्रहरीले उनलाई बुधबार राति उठाएर वीर अस्पताल भर्ना गरेको हो ।
वार्ता समितिका सदस्य एवं वडाध्यक्ष दानबहादुर राईका अनुसार, मेयर भट्टराईलाई राति करिब १० बजे एम्बुलेन्समा राखेर वीर अस्पतालको आकस्मिक कक्षमा लगिएको छ । उनको रक्तचाप (प्रेसर) निकै कम भएको र शरीर कमजोर बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको हो । ‘प्रहरीले साँझ ५ बजेदेखि नै उहाँलाई अस्पताल लैजान खोजेको थियो, तर मेयरज्यूले मान्नुभएन,’ राईले भने, ‘तर राति स्वास्थ्य थप जटिल बनेपछि प्रहरीले बल प्रयोग गरेरै अस्पताल पुर्याएको हो ।’
अस्पताल पुर्याइए पनि मेयर भट्टराई आफ्ना मागबाट पछि हटेका छैनन् । उनले स्वास्थ्य अवस्था बिग्रिए पनि माग पूरा नभएसम्म अनशन नतोड्ने अडान लिएको बताइएको छ । अस्पताल जानुअघि उनले ‘स्वास्थ्य अवस्था बिग्रिए पनि माइतीघरमै बस्ने’ भनी हस्ताक्षरसमेत गरेका थिए ।
किन बसे अनशन ?
मेयर भट्टराईले गएको आइतबारदेखि माइतीघरमा तीनदिने सत्याग्रह थालेका थिए । सो अवधिमा सरकारले माग सम्बोधनमा कुनै चासो नदेखाएपछि उनले बुधबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।
उनले हिमाल र प्रकृति संरक्षण, बाँसजन्य सामग्रीको प्रयोगसम्बन्धी राष्ट्रिय नीति, बाँदर नियन्त्रण र स्थानीय उत्पादन प्रवर्द्धनजस्ता राष्ट्रियस्तरका मागहरू राखेका छन् । यसैबीच, सरकारले उनीसँग एक चरणको वार्ता गरेको र उक्त वार्ता सकारात्मक रहेको बताइए पनि ठोस सहमति जुट्न नसक्दा अनशनको अवस्था आएको हो ।




