काठमाडौं । दिवंगत सांसद दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि मिति तोकेसँगै सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको हो ।
पार्टीको केन्द्रीय तहबाट प्रक्रिया अघि बढाउँदै महासचिव शंकर पोखरेलले जिल्ला र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्न पत्राचार गरेका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, बुधबार पठाइएको पत्रमा एक महिलासहित तीन जना सम्भावित उम्मेदवारको नाम भदौ १५ गतेभित्र केन्द्रमा पठाइसक्न स्पष्ट निर्देशन दिइएको छ ।
पत्रअनुसार, जिल्ला कमिटीले मातहतको निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवारका लागि नाम सिफारिस गर्न सूचित गर्नेछ । तल्लो तहका कमिटीहरूबाट आएका नामहरूमाथि छलफल गरी जिल्ला र प्रदेशले केन्द्रमा पठाउनेछन् । प्राप्त नामहरूमध्येबाट पार्टीको केन्द्रीय सचिवालय बैठकले एक जनालाई अन्तिम उम्मेदवारको रूपमा अनुमोदन गर्ने सचिव अधिकारीले जानकारी दिए ।
यो क्षेत्रमा २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरा एमालेको समर्थनमा विजयी भएका थिए । उनको गत चैत १९ गते निधन भएपछि यो पद रिक्त हुन पुगेको हो । विगतमा गठबन्धन गरेर राप्रपालाई सघाएको एमालेले यसपटक आफैँ उम्मेदवार उठाउने तयारी गरेपछि यस उपनिर्वाचनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।



