काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाका सभापति विपिन पौडेलको निधन भएको छ । ५१ वर्षीय पौडेलको मंगलबार चेन्नईबाट परिवारका सदस्य र साथीहरूसहित सिंगापुर जाँदै गर्दा क्रुजमै हृदयघात भएर निधन भएको हो ।
बुधबार भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले पौडेलप्रति श्रद्धाञ्जली प्रकट गरेको थियो । बैठकपछि प्रवक्ता मनीष झाले भने, ‘रास्वपा बर्दिया जिल्ला सभापति पौडेलज्यूको सिङ्गापुर भ्रमणको क्रममा मंगलबार राति असामयिक अप्रत्याशित देहान्तप्रति संसदीय दलको बैठकले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यस दुखद घडीमा परिवारको साथमा रहेको कुराको मनन गर्यौँ ।’
पौडेल बाँसगढीमा स्थापित उद्यमी थिए । रास्वपामा पहिला प्रदेश सदस्य, जिल्ला संयोजक हुँदै पछि उनी सभापतिको जिम्मेवारीमा रहेर काम गरिरहेका थिए । पौडेलको पार्थिव शरीर नेपाल ल्याउने तयारी भइरहेको रास्वपाले जनाएको छ ।




