चेम्बरको हीरक जयन्तीमा महिला स्वास्थ्यलाई प्राथमिकता: मनमैजुमा एक सयभन्दा बढीको निःशुल्क परीक्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७५औं ऐतिहासिक वर्षगाँठ अर्थात् हीरक जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै काठमाडौंको मनमैजुमा वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।विशेषगरी महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा एक सयभन्दा बढी महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

मुलुकको निजी क्षेत्रको सबैभन्दा पुरानो र प्रतिनिधिमूलक संस्थाको रुपमा स्थापित चेम्बरले आफ्नो हीरक जयन्ती वर्षभरि नै विभिन्न कार्यक्रमहरू आयोजना गर्ने क्रममा यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा आयोजित कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाइन हस्पिटलले प्राविधिक सहयोग पुर्‍याएका थिए । शिविरमा महिलाहरूको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले महिलाहरूलाई स्वास्थ्यप्रति सचेत रहँदै चेम्बरले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूबाट लाभ लिन आग्रह गरे । उनले महिलाहरू स्वास्थ्य र आर्थिक रूपमा सशक्त हुनुपर्नेमा जोड दिँदै भने, “महिलाहरूले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुनेगरी उद्यमी र व्यावसायिक गतिविधिमा समेत सक्रिय भई अघि बढ्नुपर्छ ।” 

चेम्बरको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठका अनुसार, मनमैजु क्षेत्रका एक सयभन्दा बढी महिलाले शिविरबाट प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् । 

साढे सात दशक लामो इतिहास बोकेको नेपाल चेम्बर अफ कमर्सले मुलुकको आर्थिक समृद्धि र निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री