प्रधानमन्त्रीको भारत भ्रमणले ‘पावर समिट’ पछि सर्‍यो, अब असोज अन्तिम साता हुने

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गर्ने नवौँ संस्करणको प्रतिष्ठित ऊर्जा सम्मेलन (पावर समिट) को मिति परिवर्तन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणसँग जुध्न गएकाले पूर्व निर्धारित मितिभन्दा करिब एक महिना पछि सारिएको हो। अब उक्त समिट आगामी असोज २९ र ३० गते (अक्टोबर १५-१६) काठमाडौँको सोल्टी होटलमा आयोजना हुनेछ।

यसअघि समिट असोज १ र २ गतेका लागि तय गरिएको थियो। तर, सोही समयमा प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र उक्त भ्रमणमा इप्पानका पदाधिकारीहरूको पनि सहभागिता रहने भएकाले सम्मेलन पछि सार्ने निर्णय लिइएको इप्पानले जनाएको छ। मिति परिवर्तनले सहभागीहरूमा पर्न गएको असुविधाप्रति इप्पानले क्षमायाचना गरेको छ।

सन् २००६ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यो सम्मेलनको नवौँ संस्करणको नारा ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ रहेको छ। सरकारले अघि सारेको ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई सफल बनाउन र नेपालको ऊर्जालाई क्षेत्रीय बजारमा पुर्‍याउन सहयोग गर्नु यो सम्मेलनको मुख्य उद्देश्य हो।

सम्मेलनलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेको छ भने भारतीय राजदूतावास ‘कन्ट्री पार्टनर’को रूपमा रहनेछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्रीबाट गराउने लक्ष्य राखिएको इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

इप्पानका अनुसार, यो सम्मेलनले ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदार, सरकारी तथा गैरसरकारी निकाय, परामर्शदाता, निर्माण व्यवसायी र वित्तीय संस्थाका प्रतिनिधिहरूलाई एउटै छानामुनि ल्याउनेछ। नेपालको हरित ऊर्जालाई नेपालको मात्र नभई एसियाकै आर्थिक विकासको पूर्वाधारका रूपमा स्थापित गर्न आवश्यक रणनीतिबारे सम्मेलनमा गहन छलफल हुने आयोजकको विश्वास छ। सम्मेलनको मिति परिवर्तन भए पनि अन्य एजेन्डाहरू यथावत् रहने र यसलाई भव्य रूपमा सफल पार्न सबै सरोकारवालाको साथ रहने अपेक्षा इप्पानले गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री