काठमाडौँ । बलात्कारको गम्भीर आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (झा) ले आफूलाई आरोप लगाउने युवतीविरुद्ध नै कानुनी लडाइँ सुरु गरेका छन् । अहिराजले पीडित भनिएकी युवतीमाथि आपराधिक लाभ (ब्ल्याकमेलिङ) गरेको दाबीसहित दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर भएको छ ।
अहिराजले आफ्नो जाहेरीमा युवतीले आफूलाई धम्क्याएर २० लाख रुपैयाँ मागेको र रकम नदिए सामाजिक रूपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्मको धम्की दिएको उल्लेख गरेका छन् । सुरुमा मागिएको २० लाखमध्ये आफूले तीन लाख रुपैयाँ नगदै दिएको दाबीसमेत उनको छ । यही जाहेरीको अनुसन्धानपछि प्रहरीले बलात्कार पीडित युवतीलाई फरार प्रतिवादी बनाउँदै मुद्दा अघि बढाएको हो ।
यता, अहिराजविरुद्ध भने मंगलबार नै जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । गत जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा एक्लै भएको अवस्थामा अहिराजले बलात्कार गरेको पीडित युवतीको आरोप छ । यही आरोपका आधारमा उनी पक्राउ परेका थिए ।
पूर्वप्रदेश प्रमुख जस्तो उच्च पदस्थ व्यक्ति मुछिएको यो प्रकरणमा बलात्कारको आरोपसँगै ‘ब्ल्याकमेलिङ’ को दाबी पनि जोडिएपछि यसलाई थप रहस्यमय बनाएको छ ।




