उर्लियो त्रिशूली नदी : तटीय क्षेत्रमा त्रास, प्रसारण लाइनमा क्षति

काठमाडौं । बुधबार बिहानैदेखि भोटेकोशी नदीमा उर्लिएको भीषण बाढीले त्रिशूली नदीको जलसतह खतराको तहसम्म बढाएको छ । बाढीले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा त्रास फैलाएको छ भने स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आपत्कालीन सूचना जारी गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार, बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली बजार र देवीघाट जस्ता संवेदनशील क्षेत्रमा तीव्र कटान गरिरहेको छ । बाढी मानव बस्तीतर्फ सोझिन सक्ने जोखिम बढेपछि प्रशासनले सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। 

अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूले नदी किनारका बस्तीहरूमा ‘माइकिङ’ गर्दै सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न निरन्तर आग्रह गरिरहेका छन् ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ मा रहेको महत्त्वपूर्ण ‘त्रिशूली-काठमाडौं प्रसारण लाइन’ को सब-स्टेसनमा समेत क्षति पुर्‍याएको छ । यसले गर्दा विद्युत् आपूर्तिमा समेत असर पर्न सक्ने देखिएको छ । प्रशासनले नदीको जलस्तर घटिनसकेकाले जोखिम कायमै रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई रातको समयमा अझ बढी चनाखो रहन अपिल गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री