नागढुंगा सुरुङ सञ्चालनको अन्तिम तयारी, मन्त्रीको निर्देशन- ‘बाँकी काम तत्काल सक्नुहोस्’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले मंगलबार त्यसको स्थलगत अनुगमन गरेका छन् । सडक विभागका उच्च अधिकारीहरूलाई साथमा लिएर सुरुङमार्गको निरीक्षण गर्दै उनले बाँकी रहेका कामलाई तीव्रता दिएर जतिसक्दो छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।

सुरुङमार्ग निर्माणको पछिल्लो प्रगति, मुख्य संरचनाको अवस्था र अब गर्नुपर्ने कामबारे मन्त्री दहालले विस्तृत जानकारी लिएका थिए । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाको ट्राफिक जामलाई सदाका लागि अन्त्य गर्ने अपेक्षा गरिएको यो सुरुङमार्ग छिटोभन्दा छिटो सञ्चालनमा आओस् भन्ने जनचाहनालाई ध्यानमा राख्दै उनले कुनै पनि बहानामा काममा ढिलासुस्ती नगर्न आयोजना पक्षलाई सचेत गराए ।

अनुगमनका क्रममा सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको जानकारी गराए । उनले सुरुङको प्रवेशद्वार र बाहिरी क्षेत्रमा पहिरोको जोखिम रहेका केही स्थानमा ‘रक-सेड’ लगायतका सुरक्षात्मक कामहरू भइरहेको र त्यो सम्पन्न हुनासाथ सुरुङ सञ्चालनका लागि तयार हुने बताए । यो सुरुङमार्ग नेपालको पूर्वाधार विकासमा एक महत्त्वपूर्ण कोशेढुङ्गा मानिएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री