मुख्यमन्त्री लामाको पद धरापमा, आज छिनोफानो

काठमाडौं । आफ्नै दलका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावले बागमती प्रदेश कांग्रेसभित्र चुलिएको विवादले सोमबार दिनभरको रस्साकस्सीपछि पनि निकास पाउन सकेन । केन्द्रीय प्रतिनिधिको मध्यस्थतामा समेत सहमति जुट्न नसकेपछि संसदीय दलको नेता चयनको छिनोफानो गर्न आज बिहान १० बजेका लागि बैठक बोलाइएको छ ।

बैठकले मुख्यमन्त्री लामाको राजनीतिक भविष्यको फैसला गर्नेछ । गत शुक्रबार मुख्यमन्त्री लामाविरुद्ध उनकै दलका २१ सांसदले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि बागमती प्रदेशको राजनीतिमा तरंग उत्पन्न भएको थियो । यही संकट समाधानका लागि पार्टी केन्द्रले केन्द्रीय सदस्य राजन केसीलाई प्रतिनिधिका रूपमा हेटौंडा पठाएको थियो । तर, पूर्व मुख्यमन्त्री तथा प्रभावशाली नेता इन्द्र बानियाँ नेतृत्वको असन्तुष्ट समूहले केसीको भूमिकामाथि नै प्रश्न उठाएपछि सहमतिको प्रयास थप जटिल बनेको थियो ।

दिनभर चलेको अनौपचारिक छलफलमा मुख्यमन्त्री लामाले असन्तुष्ट पक्षका केही सांसदलाई मन्त्री पदको आश्वासन दिएर आफ्नो पक्षमा पार्ने प्रयास गरे पनि त्यो सफल हुन नसकेको कांग्रेस स्रोतले जनाएको छ । सांसदहरू आफ्नो अडानमा कायमै रहेपछि सोमबारको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

संसदीय दलका सचिव कृष्ण तामाङका अनुसार अब सहमतिको प्रयासभन्दा पनि प्रक्रियामा अघि बढ्ने निर्णय भएको छ । ‘लामो समयसम्म सहमति जुट्न सकेन । आज बिहान १० बजे बस्ने बैठकले संसदीय दलको नेता चयनको औपचारिक प्रक्रिया सुरु गर्नेछ,’ उनले भने, ‘बैठकको सुरुमा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूको हस्ताक्षर प्रमाणीकरण गरी प्रक्रिया अघि बढाइनेछ ।’

के भन्छ अंकगणित ?
बागमती प्रदेशसभामा कांग्रेसका कुल ३७ सांसद छन् । मुख्यमन्त्री लामालाई आफ्नो पद जोगाउन १९ सांसदको समर्थन आवश्यक पर्छ । हाल २१ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकाले लामाले आफ्नो पक्षमा बहुमत पुर्‍याउन असन्तुष्ट समूहबाट कम्तीमा तीन सांसदलाई फिर्ता ल्याउनुपर्नेछ । आजको बैठकमा हुने मतदान वा अन्य प्रक्रियाले नै बागमती प्रदेशमा कांग्रेसको आन्तरिक शक्ति संघर्ष कुन दिशामा जान्छ भन्ने स्पष्ट पार्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री