श्रद्धा र विश्वासको प्रतीक नागपञ्चमी: घरघरमा नागको पूजा गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर श्रद्धा र विश्वासका साथ मनाइँदैछ । आजका दिन घरको मूल ढोकामा नागको चित्र टाँस्दा वर्षभरि घरमा नाग, सर्प, बिच्छी जस्ता जीवले दुःख नदिने र अग्नि, चट्याङ तथा मेघको भयबाट पनि बच्न सकिन्छ भन्ने गहिरो धार्मिक विश्वास रहेको छ ।

नागको पौराणिक र धार्मिक महत्त्व

हिन्दु धर्ममा नागलाई देवताका रूपमा पूजा गरिन्छ। भगवान् शिवले आफ्नो आभूषणको रूपमा नागको माला लगाउने र भगवान् विष्णु शेषनागको शय्यामा विराजमान हुने भएकाले नागलाई शिव र विष्णु दुवैको स्वरूप मानिन्छ। प्रथम पूज्य भगवान् गणेशको हातमा नाग रहेको, रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिनुले पनि नागको महत्त्वलाई थप प्रस्ट पार्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रत्येक घरको जगमुनि नागको बास हुने र उनी रिसाएमा घरको जग भत्किने विश्वासमा नाग पूजा गर्ने परम्परा बसेको हो। ज्योतिषशास्त्रमा पनि पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले यस दिन गरिने पूजा विशेष फलदायी मानिन्छ।

नागपञ्चमीका प्रचलित कथाहरू

नागपञ्चमीको सुरुवातबारे विभिन्न किंवदन्तीहरू प्रचलित छन्। सबैभन्दा प्रचलित कथा अनुसार, एक किसानले खेत खन्दा अनजानमा नागका बच्चाहरू मारिएपछि क्रोधित नागिनीले किसानको पूरा परिवारलाई डसेर मारिदिइन्। संयोगले बाहिर भएकी किसानकी छोरी मात्र बाँचिन्। जब नागिनीले उनलाई पनि डस्न खोजिन्, ती छोरीले नागिनीको पूजाआजा गरी दूध खान दिने वाचा गरिन्। उनको भक्तिबाट प्रसन्न भएकी नागिनीले सम्पूर्ण परिवारलाई पुनर्जीवन दिइन्। यही घटना श्रावण शुक्ल पञ्चमीका दिन भएकाले त्यसैबेलादेखि नागपूजाको परम्परा बसेको मानिन्छ।

अर्को एक प्रसंगअनुसार, राजा परीक्षितको मृत्युको बदला लिन उनका छोरा जनमेजयले सुरु गरेको सर्पयज्ञलाई तक्षक नागका भान्जा आस्तिक मुनिले रोकेका थिए। सम्पूर्ण नागजातिको रक्षा भएको दिन पनि श्रावण शुक्ल पञ्चमी नै परेकाले यो दिनलाई नागपञ्चमीका रूपमा मनाउन थालिएको हो।

कसरी गरिन्छ पूजा?

आजको दिन बिहानै स्नान गरी घरको मूलढोकामाथि गाईको गोबरले अष्टनाग अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखको चित्र टाँसिन्छ। त्यसपछि दियो, कलश र गणेशको पूजा गरी दूध, दही, घिउ, दुबो, अक्षता, सिन्दूर र चन्दनले नागको पूजा गरिन्छ। नागलाई श्रीखण्डको सुगन्ध प्रिय लाग्ने भएकाले पूजामा चन्दनको प्रयोग गर्नु उत्तम मानिन्छ।

यस दिन खेतबारीमा खनजोत गर्नु, हलो चलाउनु वा जग खन्नु अशुभ मानिन्छ । नागपञ्चमीसँगै हिन्दु धर्मावलम्बीहरूका चाडपर्वको याम पनि सुरु भएको मानिन्छ । यस अवसरमा काठमाडौंको नागपोखरी, भक्तपुरको सिद्धपोखरी र ललितपुरको टौदहजस्ता नागको बासस्थान मानिने स्थानमा विशेष पूजाआजा गरी मेला लाग्ने गर्द छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री