काठमाडौं । धनुषाको जनकपुरधाममा युवतीको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित आफ्नै घरमा २३ वर्षीया शोभा मण्डल शनिबार राति मृत अवस्थामा फेला परेकी हुन् ।
श्रीमानको परिवारले झुण्डिएर आत्महत्या गरेको बताए पनि उनको शव ओछ्यानमा भेटिनु र माइती पक्षले हत्या भएको आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार, राति करिब साढे १२ बजे घरमा एक महिलाले झुण्डिएर आत्महत्या गरेको खबर प्राप्त भएको थियो । तर, प्रहरी टोली घटनास्थलमा पुग्दा मृतक शोभाको शव ओछ्यानमा राखिएको अवस्थामा फेला परेको थियो ।
घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर बचाउनका लागि ओछ्यानमा राखेको प्रारम्भिक बयान दिएका छन् । मृतकका माइती पक्षले भने यो आत्महत्या नभई सुनियोजित हत्या भएको दाबी गरेको छ । महोत्तरीको बर्दिबास नगरपालिका-१४, माइस्थान निवासी माइती पक्षका अनुसार, लामो समयदेखि दाइजोको विषयलाई लिएर शोभालाई शारीरिक तथा मानसिक यातना दिइने गरेको थियो । सोही निहुँमा उनको हत्या भएको उनीहरुको जिकिर छ ।
पाँच वर्षअघि शोभाको विवाह चन्दन मण्डलसँग भएको थियो । उनीहरूबाट एक छोरी पनि छन् । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।




