काठमाडौं । देशभर मनसुनी वायुले आफ्नो प्रभाव विस्तार गर्दा आज देशका अधिकांश स्थानमा साधारणदेखि पूर्ण बदली कायम रहेको छ भने बागमती र गण्डकी प्रदेशमा वर्षा तीव्र बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहिरहेकाले वर्षाको यो क्रम जारी रहनेछ । यससँगै बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा पानी परिरहेको छ । त्यसैगरी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सक्रिय मनसुनका कारण साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम बढेको हो ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको सूचनाअनुसार विशेषगरी दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर बग्ने साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ । यी दुई जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको भन्दै महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई आज दिनभर विशेष सतर्क रहन सूचित गरेको छ ।
त्यसैगरी, अन्य १९ जिल्ला भएर बग्ने साना नदीहरूमा पनि बाढीको “मध्यम सम्भावना” रहेको पूर्वानुमान छ। महाशाखाका अनुसार इलाम, झापा, सोलुखुम्बु, सङ्खुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर), काभ्रेपलान्चोक, चितवन, सिन्धुली, नवलपरासी (पूर्व र पश्चिम), लमजुङ, रुकुम (पूर्व र पश्चिम), सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कैलाली जिल्लाका साना नदी तटीय क्षेत्रमा पनि सतर्कता आवश्यक रहेको छ ।
कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, राप्ती र बबई जस्ता ठूला नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि सहायक नदीहरूबाट आउने बाढीले जलस्तर बढाउन सक्ने भएकाले नदीतटीय क्षेत्रका बासिन्दालाई चनाखो रहन आग्रह गरिएको छ । लगातारको वर्षाले पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढाएकाले यात्रा गर्दा सावधानी अपनाउनसमेत सम्बन्धित निकायले अनुरोध गरेको छ ।




