काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर जारी बहसलाई चिर्दै पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आगामी १५ औं महाधिवेशन २०८३ सालको दसैँको आसपासमा हुने स्पष्ट पारेका छन् । उनले महाधिवेशन अहिले नै नहुने ठोकुवा गर्दै यसका लागि कम्तिमा दुई वर्ष कुर्नुपर्ने संकेत गरेका छन् ।
आइतबार आयोजित एक पत्रकार सम्मेलनमा नेता सिटौलाले पार्टीको विधान र विगतको अभ्यासलाई आधार मान्दै महाधिवेशनको समयसीमाबारे स्पष्ट पारेका हुन् । ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ, अहिले हुँदैन,’ उनले भने ।
पार्टीभित्र विशेष गरी युवा पंक्ति र संस्थापनइतर पक्षबाट महाधिवेशन चाँडो गर्नुपर्ने आवाज उठिरहेका बेला सिटौलाको यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले नवौं महाधिवेशनदेखि नै पार्टीले पाँच वर्षे कार्यकालको अभ्यास गर्दै आएको स्मरण गराए । ‘हाम्रो विधानमा चार वर्षको कार्यकाल र विशेष परिस्थितिमा एक वर्ष थप गर्न पाइने व्यवस्था छ । वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल अबको मंसिरमा पूरा हुँदैछ,’ सिटौलाले भने, ‘अहिलेसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणको काम टुंगिएको छैन, जसका लागि असोज मसान्तको समय तोकेका छौँ । त्यसैले महाधिवेशन ८३ को मंसिरभन्दा पर लैजान मिल्दैन, तर त्यसअघि नै सम्पन्न गर्नुपर्छ ।’
उनको यो भनाइले पार्टी पंक्तिलाई दुईवटा स्पष्ट सन्देश दिएको छ: पहिलो, तत्काल महाधिवेशनको सम्भावना नरहेको र दोस्रो, वर्तमान नेतृत्वले विधानले दिएको ५ वर्षको सुविधा पूरै उपयोग गर्नेछ । यसले पार्टीको आगामी दुई वर्षको आन्तरिक राजनीति महाधिवेशनको तयारी, विशेष गरी क्रियाशील सदस्यतामा केन्द्रित हुने देखिएको छ ।



