कांग्रेसका पुराना नेता तथा गण्डकीका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन, अन्त्येष्टि आइतबार

काठमाडौं । नेपाली कांग्रेसका निष्ठावान नेता, गण्डकी प्रदेशका पूर्व प्रमुख एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत ७६ वर्षीय गुरुङको शनिबार बिहान ८ बजे चितवनको भरतपुर-२६ स्थित आफ्नै निवासमा निधन भएको हो ।

गुरुङले आफ्नो राजनीतिक जीवनमा पार्टीको जिल्ला सभापतिदेखि प्रदेश प्रमुखजस्तो गरिमामय संवैधानिक पदसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । उनी वि.सं. २०७८ साउन १२ गते गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका थिए। यसअघि उनले नवलपरासी जिल्ला भूमि आयोगको अध्यक्षको भूमिका पनि निर्वाह गरिसकेका थिए ।

वि.सं. २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङघलेलमा जन्मिएका गुरुङ पछि चितवन बसाइँ सरेर यसैलाई कर्मथलो बनाएका थिए । उनले वि.सं. २०४६ सालको जनआन्दोलनमा परिचालन समितिको सदस्य भएर महत्वपूर्ण भूमिका खेलेका थिए । नेपाली कांग्रेस विभाजनताका उनी प्रजातान्त्रिक कांग्रेसको चितवन जिल्ला सभापति बनेका थिए, जसले पार्टीको कठिन समयमा पनि उनको नेतृत्व क्षमतालाई दर्शाउँछ ।

सरल र मिलनसार स्वभावका धनी गुरुङ निष्ठा र सिद्धान्तको राजनीतिमा विश्वास राख्ने नेताका रूपमा परिचित थिए । उनको निधनले नेपाली कांग्रेसले एक अनुभवी र अभिभावकीय भूमिकामा रहेका नेता गुमाएको छ । गुरुङका श्रीमती र एक छोरा छन् । उनका जेठो छोराको भने यसअघि नै निधन भइसकेको थियो । हाल कान्छा छोरा देश बाहिर रहेकाले उनको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री