काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुद्ध जन्मस्थल लुम्बिनीको गरिमालाई अक्षुण्ण राख्न यसको संरक्षण र संवर्द्धनमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् । लुम्बिनीमा लामो समयदेखि धार्मिक र सामाजिक सेवामा समर्पित थाई भिक्षु सुपोत महास्थविरलाई शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अभिनन्दन गर्दै उनले उक्त कुरामा जोड दिएका हुन् ।
थाइल्याण्ड सरकारबाट आफ्नो देशको सर्वोच्च धार्मिक सम्मान प्राप्त गर्नुभएका महास्थविरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायले उनको योगदानको कदर गर्दै अभिनन्दन गरेको हो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले महास्थविरले लुम्बिनीमा बसेर गर्नुभएको अनवरत सेवाको उच्च प्रशंसा गरे ।
‘महास्थविरले लुम्बिनीमा बसेर जुन निरन्तर र अनवरत धार्मिक एवं सामाजिक योगदान गर्नुभएको छ, त्यसको कदर गर्दै थाइल्याण्ड सरकारले प्रदान गरेको उच्च सम्मान प्रशंसनीय छ,’ उनले भने, ‘बुद्ध दर्शनलाई विश्वभर फैलाउन र बुद्ध जन्मभूमिको संरक्षण गर्न यस्ता निस्वार्थ सेवाले ठूलो प्रेरणा दिन्छ ।’
उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक अर्काका पर्याय भएको बताउँदै विश्व शान्तिको केन्द्र लुम्बिनीको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखेका हुन् ।




