मनसुन कमजोर, तर केही स्थानमा मध्यम वर्षा र हावाहुरीको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपासमा अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय भएको हो ।

यसको प्रभावस्वरुप हाल देशका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदलीको अवस्था छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदलीको प्रभाव बढी देखिएको छ। बागमती प्रदेशका केही स्थानका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम आंशिक बदली हुनेछ। कोशी प्रदेशको पहाडी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा पनि यस्तै किसिमको वर्षाको पूर्वानुमान गरिएको छ।

विशेषगरी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ।

देशभर मनसुनी वायु कमजोर रहेकाले दिउँसोको समयमा तापक्रम बढ्ने र गर्मी यथावत् रहने देखिन्छ।

यस वर्षको मनसुन नेपालमा सरदर मितिभन्दा १५ दिनअघि नै प्रवेश गरेको थियो। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विशेषगरी कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सरदरभन्दा बढी वर्षाको सम्भावना औंल्याइएको छ। मनसुन सक्रिय हुँदा भारी वर्षा, बाढी, पहिरो र भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री