काठमाडौं । बाजुराको विकट हिमाली गाउँपालिकामा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार, दुर्घटना गाउँपालिकाको वडा नम्बर ५ स्थित क्युडी भन्ने स्थानमा भएको हो ।
हिमाली गाउँपालिकाका वडा अध्यक्ष प्रदीप बुढथापाले दिएको जानकारी अनुसार, कच्ची सडकमा गुडिरहेको जिपमा क्षमताभन्दा बढी २६ जना यात्रु सवार थिए । दुर्घटनामा परी हिमाली गाउपालिका-५ की ७६ वर्षीया बाचा रोकाया र सोही गाउँकी-७५ वर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।
किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जिप दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको र घाइतेहरुको उद्धार कार्य जारी रहेको बताइएको छ ।
खबर पाउनसाथ स्थानीय र प्रहरी उद्धारमा खटिएका थिए । घाइतेहरुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने तयारी भइरहेको छ । कच्ची बाटो र क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।




