काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले निष्काशन गरेको साढे ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट भएको छ । दुवै बैंकले बुधबार ऋणपत्र बाँडफाँट गरेको जनाएका छन् । नेपाल एसबिआई बैंकले असार ३० देखि साउन १ गतेसम्म बिक्री खुला गरेको ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ बाँडफाँट गरेको हो ।
बैंकले १० वर्ष अवधिको लागि वार्षिक ७ प्रतिशत ब्याजदर दिने गरी प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । त्यसमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरले र १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको थियो । सर्वसाधारणका लागि छुट्याइएको मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित थियो । उक्त ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
यसैगरी, सिद्धार्थ बैंकले पनि असार २९ देखि ३२ गतेसम्म बिक्री खुला गरेको ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १० वर्षे अवधिका लागि वार्षिक ७.२५ प्रतिशत ब्याजदर दिने गरी २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।
कुल निष्काशनमध्ये १५ लाख कित्ता व्यक्तिगत र १० लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको हो । सर्वसाधारणतर्फको निष्काशनमा ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । यसको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले पूरा गरेको हो ।
आवेदकहरूले बिक्री प्रबन्धक तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सक्नेछन् ।




