काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच पुरानो अस्पतालको जग्गा स्वामित्वलाई लिएर विवाद चर्किएको छ । मेयर साम्पाङले प्रतिष्ठानले उक्त जग्गा ‘हडपेको’ र ‘सुटुक्कै लगेको’ भन्दै फिर्ता गर्न दबाब दिएपछि प्रतिष्ठानले कडा आपत्ति जनाएको छ ।
विवादको चुरो धरानको छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा हो, जहाँ उपमहानगरपालिकाले नगर अस्पताल बनाउने योजना अघि सारेको छ । मेयर साम्पाङले प्रतिष्ठानविरुद्ध प्रदर्शन गर्ने र जग्गा फिर्ताका लागि दबाब दिने घोषणा गरेका छन् । उनले नगर अस्पताल खोल्नुपर्नेमा जोड दिँदै प्रतिष्ठानले जग्गा ‘सुटुक्कै लगेको’ विरुद्ध प्रदर्शन गर्न आह्वान गरेका छन् ।
उनले स्वास्थ्य मन्त्रीलाई समेत प्रश्न गर्दै प्रतिष्ठानले ‘हडपेको’ जग्गा फिर्ता हुने वा नहुने निश्चित गर्न माग गरेका छन्, ताकि नगर अस्पतालको बजेटबारे निर्णय लिन सकियोस् । उपमहानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रूपमै पत्र पठाएर उक्त जग्गा फिर्ताको माग गरेको छ । मेयर साम्पाङले उक्त जग्गा हस्तान्तरण प्रक्रियामा अनियमितता भएको संकेत गर्दै त्यसलाई तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।
मेयर साम्पाङको उक्त कदम र आक्रामक अभिव्यक्तिप्रति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गम्भीर आपत्ति जनाएको छ । प्रतिष्ठानले मेयरले प्रयोग गरेका ‘सुटुक्कै लगेको’ र ‘हडपेको’ जस्ता शब्दले भ्रम र गलत सूचना फैलाएको भन्दै खेद प्रकट गरेको छ ।
प्रतिष्ठानले आफ्नो स्थापना २०४९ सालमा भएको र तत्कालीन सरकारको निर्णयबमोजिम नै साबिकको धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी भएको ऐतिहासिक तथ्य प्रस्तुत गरेको छ । प्रतिष्ठानले आफूमाथि लगाइएका आरोपहरुले दुई संस्थाबीचको सम्बन्धमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्तिमा ‘प्रतिष्ठान र उपमहानगरपालिका दुवै जनताको हित र स्वास्थ्यको प्रत्याभूति गराउन अभिप्रेरित हुनुपर्ने हुँदा विधि र प्रकृया भन्दा बाहिर गएर गरिएका कार्यहरूले विकासमा बाधा पुग्ने’ भन्दै सबैलाई सचेत गराइएको छ ।
यो विवादले धरानका दुई महत्त्वपूर्ण संस्थाहरूलाई आमनेसामने उभ्याइदिएको छ । एकातिर नगरको विकास र स्वास्थ्य सुविधा विस्तारका लागि मेयर साम्पाङ कटिबद्ध देखिन्छन् भने अर्कोतिर प्रतिष्ठानले आफ्नो ऐतिहासिक र कानुनी आधार प्रस्तुत गर्दै जग्गामाथिको स्वामित्व दाबी गरिरहेको छ ।



