ठमेलमा प्रहरीको छापा: २ किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेल सुनको अवैध कारोबार र हुन्डीको केन्द्र बन्दै गएको आशंकाबीच प्रहरीले ठूलो सफलता हात पारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार साँझ ठमेलको ज्याठास्थित एक होटलबाट करिब दुई किलोग्राम सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार, पक्राउ पर्नेमा चीनको सियाचिन निवासी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्। विशेष सूचनाका आधारमा प्रहरीले उक्त होटलमा छापा मारेको थियो। छापा मार्ने क्रममा उनीहरुको साथबाट ठूलो परिमाणको सुन र स्रोत नखुलेको नगद बरामद भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरु लामो समयदेखि अवैध सुनको खरिदबिक्री तथा गैरकानुनी वित्तीय कारोबार (हुन्डी) मा संलग्न रहेको आशंका गरिएको छ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। यो घटनाले काठमाडौंमा विदेशी नागरिकको संलग्नतामा भइरहेका संगठित अपराधको सञ्जालबारे गम्भीर प्रश्न खडा गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री