पिकअप भ्यानको ठक्करबाट बाइक चालकको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुर-गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका-८ जिगडियाचोकमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ गरुडाबाट चपुरतर्फ आउँदै गरेको बीआर ३० यू ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका-२ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । साहको उपचारका क्रममा बेटर नेपाल अस्पतालमा मृत्यु भएको प्रनाउ कार्कीले बताए ।

मोटरसाइकलको पछाडि सवार गरुडा-८ का २५ वर्षीय शम्भु साहको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ । उनको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप भ्यानका चालक फरार छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री