छाउगोठमा महिलाको मृत्युपछि प्रदेश सरकार कठोर, कुरीति अन्त्य गर्न कडा कदम चाल्ने

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा बसेकी एक महिलाको सर्पले डसेर ज्यान गएपछि सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथा उन्मूलनका लागि कडा कदम चाल्ने भएको छ । शनिबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुपरिवेक्षण तथा निर्देशन समितिको बैठकले छाउगोठ भत्काउन र सामाजिक विभेद अन्त्य गर्न ठोस कार्यक्रम चलाउन सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले कृष्णपुर-१, निगालीमा भएको घटनाको गम्भीरतालाई ध्यानमा राख्दै यस्ता घटना दोहोरिन नदिन तत्काल सक्रिय हुन मातहतका निकायलाई आदेश दिएको एक सहभागीले बताए ।

“अब समाजमा देखिने विभेद र छुवाछुतयुक्त व्यवहारको नियमनलाई थप प्रभावकारी बनाइनेछ,” बैठकको निर्णय उद्धृत गर्दै स्रोतले भन्यो, “सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम पनि सँगै लगिनेछ ।”

बैठकले ‘छाउपडी प्रथाजन्य कुरिती उन्मुलन निति, २०७६’ को कार्यान्वयन फितलो देखिएको स्वीकार्दै प्रदेश, जिल्ला र स्थानीय तहमा बनेका समितिहरूलाई तत्काल सक्रिय बनाउने निर्णय गरेको छ । यी समितिहरूलाई नियमित बैठक बस्न र अनुगमन गरी सक्रियता बढाउन निर्देशन दिइएको छ ।

यसैगरी, सामाजिक विकास मन्त्रालयलाई विद्यालय, समुदाय र धार्मिक संस्थालाई लक्षित गरी प्रदेशस्तरीय वार्षिक कार्ययोजना बनाउन र छाउपडी प्रथा तथा जातीय विभेदविरुद्ध अभियान चलाउन जिम्मेवारी दिइएको छ ।

मुलुकी अपराध संहिता, २०७४ ले छाउपडीलाई दण्डनीय अपराध माने पनि कानुन कार्यान्वयनमा देखिएको सुस्तता र सामाजिक अन्धविश्वासका कारण सुदूरपश्चिममा बर्सेनि महिलाहरूले छाउगोठमा अकालमा ज्यान गुमाइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री