वित्तीय पारदर्शितामा नबिल बैंक सर्वोत्कृष्ट, आइक्यानद्वारा राष्ट्रिय व्यावसायिक कार्यसम्पादन अवार्ड प्रदान

काठमाडौं। संस्थागत सुशासन र वित्तीय पारदर्शितामा उत्कृष्टता प्रदर्शन गर्दै नबिल बैंकले यस वर्षको प्रतिष्ठित ‘राष्ट्रिय व्यावसायिक कार्यसम्पादन अवार्ड’ को स्वर्ण पदक जितेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा आयोजित एक विशेष समारोहमा विभिन्न विधाका उत्कृष्ट संस्थाहरूलाई सम्मान गरिएको हो।

नेपालमा वित्तीय प्रतिवेदनको उच्च मापदण्ड कायम गर्ने तथा उत्कृष्ट र पारदर्शी वित्तीय विवरण प्रकाशनलाई प्रोत्साहन गर्ने उद्देश्यले आइक्यानले हरेक वर्ष यो अवार्ड आयोजना गर्दै आएको छ। अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महालेखा परीक्षक तोयम राय, गभर्नर विश्वनाथ पौडेल लगायतको उपस्थिति थियो।

यस अवार्डका विजेताहरूले दक्षिण एसियाली लेखापाल महासंघ (साफा) द्वारा आयोजना गरिने क्षेत्रीय स्तरको अवार्डमा प्रतिस्पर्धा गर्न सिफारिस हुने हुँदा यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व रहेको छ।


कुन क्षेत्रमा को उत्कृष्ट?

बैंकिङ क्षेत्रमा नबिलको वर्चस्व
प्रतिस्पर्धात्मक मानिने निजी क्षेत्रका बैंकहरूमा नबिल बैंकले स्वर्ण अवार्ड हात पार्दा सिद्धार्थ बैंकले रजत र नेपाल एसबिआई बैंकले कांस्य पदक प्राप्त गरे। यसैगरी, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले योग्यताको प्रमाणपत्र हासिल गरे। सार्वजनिक क्षेत्रका बैंकिङ संस्थाहरूमध्ये कृषि विकास बैंकले रजत अवार्ड जित्न सफल भयो।

वित्तीय सेवामा कामना सेवा अब्बल
वित्तीय सेवा क्षेत्रतर्फ कामना सेवा विकास बैंकले स्वर्ण पदक जित्दा महालक्ष्मी विकास बैंकले रजत र मुक्तिनाथ विकास बैंकले कांस्य पदकमा चित्त बुझाए। प्रभु क्यापिटल, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले योग्यताको प्रमाणपत्र प्राप्त गरे।

बीमा क्षेत्र
गैर-जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स कम्पनीले स्वर्ण पदक जित्यो भने शिखर इन्स्योरेन्स कम्पनीले कांस्य पदक प्राप्त गर्‍यो। हिमालयन एभरेष्ट इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले योग्यताको प्रमाणपत्र पाए। जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रजत पदक र आईएमई लाइफले योग्यताको प्रमाणपत्र हासिल गरे।

उत्पादन, ऊर्जा र सेवा क्षेत्र
उत्पादनमूलक संस्थाहरूमध्ये युनिलिभर नेपालले स्वर्ण अवार्ड प्राप्त गर्‍यो। बोटलर्स नेपाल (तराई) र हिमालयन डिस्टिलरीले संयुक्त रूपमा कांस्य पदक जिते भने बोटलर्स नेपालले योग्यताको प्रमाणपत्र पायो। ऊर्जा क्षेत्रमा बुटवल पावर कम्पनी र सेवा क्षेत्रमा ओरिएन्टल होटल लिमिटेडले क्रमशः योग्यताको प्रमाणपत्र र कांस्य अवार्ड प्राप्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप